
काठमाडौं । यतिबेला नाटकमा दर्शकको घुइँचो उत्साहप्रद देखिएको छ । मण्डला थिएटरमा मञ्चन भइरहेको ‘यौटा सपनाको अवसान’का प्रत्येक शो हाउसफुल भइरहेका छन् । सेलिब्रिटी मात्र होइन सर्वसाधारणसम्म नाटक हेर्न पुगिरेहका छन् ।
यस्तै अवस्था शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘विमोक्ष’मा पनि देखिएको छ । नाटक हेर्न दर्शकको घुइँचो लागेपछि शिल्पीले ‘विमोक्ष’को मञ्चनलाई एक साता लम्बाएको छ । आगामी शनिबारसम्म नाटक देखाइनेछ । ‘दर्शकको उच्च मागको कारण हामीले नाटकलाई लम्बाएका हौं,’ लेखक समेत रहेका घिमिरे युवराजले अनलाइनखबरसँग भने ।
राम्रो समीक्षा प्राप्त गरेको ‘विमोक्ष’ले मोक्ष प्राप्तिका लागि संघर्ष गर्ने पात्रहरुको कथा भन्छ । मौलिक नाटक पनि भएको र प्रस्तुतीकरण अब्बल भएको भन्दै दर्शकले प्रतिक्रिया दिइरहेका छन् । नाटकमा घिमिरे युवराज, पवित्रा खड्का, कमल घिमिरे र सगुना शाहको अभिनय छ ।
शुक्रबारदेखि थापागाउँस्थित आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’ नाटक मञ्चन भइरहेको छ । सुनिल पोखरेल र निशा शर्माको शीर्ष भूमिका रहेको यो नाटक वर्तमान परिवेश र राजनीतिसँग सान्दर्भिक भएकाले पुनः मञ्चन गरिएको गुरुकुलले जनाएको छ ।
प्रतिक्रिया 4