
१९ चैत, दमौली । यसअघिका दुई वटा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् ।
दमौलीमा भएको कार्यक्रममा उनले उपनिर्वाचनमा नउठ्ने बताएका हुन् । जोशी यसअघिका दुई वटै चुनावमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवार बनेका थिए ।
२०७४ को चुनावमा निर्वाचन आयोगले उम्मेदवारी रद्ध गरेपछि एमालेका उम्मेदवारलाई सहयोग गरेका उनले गत मंसिरको चुनावमा भने तनहुँ १ मा ६ हजार ८८६ मत ल्याएका थिए ।
तर यसपालिको उपचुनावमा आफू नउठ्ने र कुनै एक उम्मेदवारलाई समर्थन गर्ने उनले बताए । तर उनले कसलाई समर्थन गर्ने भन्ने खुलाएका छैनन् ।
तनहुँको राजनीतिमा प्रभाव राख्ने जोशीको समूह नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने योजनामा छ ।
तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी हुन् ।
गोविन्दराजका छोरा दीपकले नेकपा एमालेको सहयोगमा उपचुनाव लड्ने तयारी गरेको भए पनि एमालेले आफ्नै उम्मेदवार उठाएकाे छ ।
२०७४ को निर्वाचनमा पार्टीको साख गिराएको र विपक्षी पार्टीलाई जिताउन लागेको भन्दै जोशीलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको थियो ।
आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले २०७४ को चुनावलाई आधार बनाएर गरिएको कारबाही फुकुवा गरेको छ ।
तर २०७९ को चुनावमा उनी कांग्रेसमा थिएनन् तर पनि पार्टीका उम्मेदवार विरुद्ध उम्मेदवार थिए । त्यसैले उनीविरुद्धको कारबाही फुकुवा भइनसकेको कांग्रेसका एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार यो उपचुनावमा पार्टीका उम्मेदवारलाई सहयोग गरेमा जोशीमाथिको कारबाही फुकुवा हुने छ ।
प्रतिक्रिया 4