
१९ चैत, काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन दर्ता गर्ने ६ जना सांसद दफाबार छलफलमा अनुपस्थित भएका छन् । उनीहरु आफ्नै संशोधन प्रस्तावमाथि छलफल भइरहँदा अनुपस्थित भएका हुन् ।
नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकका अनुसार १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये १२ जना संशोधनकर्ता सांसदले मात्रै छलफलमा भाग लिए ।
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम र श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा लगायत ५ जना संशोधनकर्ता सांसदहरु आफ्नो संशोधन उपरको छलफलमै अनुपस्थित भएका हुन् ।
नेपाली कांग्रेसकी सांसद आरजु राणाको तर्फबाट ईश्वरी देवी न्यौपानेले संशोधनमाथिको छलफलमा भाग लिएकी थिइन् । राणा उपचारका लागि नयाँ दिल्लीमा रहेको पनि उनले सदनलाई जानकारी गराएकी थिइन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतको तर्फबाट सानु मुर्मुले राउतको संशोधन प्रस्तावउपरको छलफलमा भाग लिएकी थिइन् । राउत बारा- २ को उपनिर्वाचनमा केन्द्रित भएकाले सभाको बैठकमा अनुपस्थित रहेका हुन् ।
संशोधनमाथि छलफल सकेर आइतबार प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित गरेको छ ।
प्रतिक्रिया 4