
१९ चैत, विराटनगर । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहको घरबाट बाल श्रमिकको उद्धार भएको छ । स्थानीय प्रशासनले व्यावसायी साहको घरबाट १३ वर्षीय श्रमिक बालकलाई उद्धार गरेको हो ।
विराटनगर महानगरपालिका, सिविन नेपाललगायत बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले विराटनगर अतिथि सदन नजिकै रहेको साहको घरबाट बालकको उद्धार गरेको थियो । बालकलाई सिविन नेपालको सेफ हाउसमा राखिएको छ ।
सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीका अनुसार बालकलाई श्रममा राखेको पाइएपछि उद्धार गरिएको हो । बालकलाई गोदाम जस्तो कोठामा राखेको पाइएको थियो । ‘हामी अवस्था बुझ्न भनेर मात्रै गएका थियौं, तर सुत्ने कोठा र ओछ्यान देखेपछि तत्कालै उद्दार गरेर ल्यायौं’, अधिकारीले भने, ‘बालकलाई परिवारमा पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ ।’
१४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन पाइदैन, तर साहको घरमा करिब पाँच वर्षदेखि बसेका बालकलाई काममा गर्ने गरिएको भेटिएको थियो । बालक सत्यनारायण माध्यमिक विद्यालय कक्षा ४ मा पढ्दै आएका थिए । बिहान बेलुका काम गरेर उनी दिउँसो स्कुल जाने गरेका थिए ।
मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले बालकको बुबाको मृत्यु भएपछि बालकको आमाले आफ्नो घरमा ल्याएर राखिदिएको बताए । साहले भने काममा नलगाएको दाबी गरेका छन् ।
इटहरी घर भएका बालकका बुबाको मृत्यु भइसकेको छ । आमाले दोस्रो विवाह गरेकी छन् । बुबा नभएको र आमाले पनि दोस्रो विवाह गरेका कारण बालकलाई परिवारमा पुनर्स्थापना गर्न समस्या भइरहेको छ ।
आमाले नयाँ परिवारले नमानेका कारण परिवारमा पुनर्स्थापनाका समस्या भएको हो । परिवारमा पुनर्स्थापनाका लागि काउन्सिलिङ भइरहेको सिविनका विराटनगर प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया 4