
१९ चैत, काठमाडौं । तीन क्षेत्रमा हुने उपचुनावका लागि भोलि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् र भोलि उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् ।
कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय छ । उसले चितवन र तनहुँको उम्मेदवारी दर्तामा दुई महामन्त्रीलाई नै खटाएको छ ।
एमालेले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई टिकट दिएको छ, बारा–२ मा भने उम्मेदवार टुंगो लगाएको छैन ।
रास्वपाले चितवन–२ मा सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ– १ मा स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । राप्रपाले चितवन– २ मा जीवलाल पुरी, बारा– २ मा सोनेलाल साह र तनहुँ– १ मा शोभा गुरुङलाई उम्मेदवार बनाएको छ । दलहरु उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रलाई भने उपचुनावको कुनै चटारो छैन । नेताहरुका अनुसार सत्ता गठबन्धनमा औपचारिक निर्णय त भएको छैन, तर चितवन–२ र तनहुँ–१ मा कांग्रेसलाई समर्थन गरेको माओवादीले बारा– २ मा जसपा उम्मेदवारलाई समर्थन गर्नेछ ।
माओवादी केन्द्रका सचिव हितराज पाण्डेका अनुसार सत्ता गठबन्धनमा तनहुँ– १ आफ्नो दलले पाउनुपर्ने माग थियो । माओवादीको तनहुँ जिल्ला कमिटीले कोषाध्यक्ष श्रीराम ढकालको नाम सिफारिस गरेको थियो । उनले उम्मेदवार नहुने घोषणा गरेपछि केन्द्रीय सदस्य ओमकुमारी पौडेलको नाम सिफारिस भयो ।
नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तनहुँ– १ लिनुपर्ने माग गरेका थिए ।
‘जिल्ला, प्रदेश र केन्द्रका नेताहरुले अस्ति मात्र अध्यक्षलाई भेटेर सत्ता गठबन्धनमा तनहुँ– १ हामीले लिनुपर्छ भनेका हौं’ पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका पाण्डेले भने, ‘उपचुनाव हुने तीन क्षेत्रमध्ये तनहुँ– १ नै सबभन्दा उपयुक्त हुन्छ भनेर हामीले भनेका छौं । तर निर्णय भएन ।’
प्रतिक्रिया 4