
२० चैत, चितवन । नागरिकता सम्बन्धी विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले गरेको त्रुटि कत्रो भन्ने भन्ने कुरा हेरिदिन आग्रह गरेका छन् ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले न्यायमूर्तिबाट विवेक प्रयोग हुने विश्वास व्यक्त गरे ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएकाले आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । पुनः सोही क्षेत्रमा उपनिर्वाचन लड्न लाग्दा केही अनौठो लागे पनि उत्साहित र आशावादी रहेको उनले बताए ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको पीआर लिएको र नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर खारेज भइसकेको पुरानो नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध अर्को मुद्दा परेको छ ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुले उनलाई सोही मुद्दाबारे जिज्ञासा राखेपछि रविले अपराध कत्रो हो भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्ने बताए ।
सरकारी कार्यालयको कलम कर्मचारीको घर पुग्ने गरेको बताउँदै उनले भने, ‘९९ प्रतिशत कर्मचारीले सरकारी कार्यालयको कलम घरमा लगेर आफ्ना छोराछोरीलाई लेख्न दिनुहुन्छ । त्यो कलम सरकारी सम्पत्ति हो नि । सरकारी सम्पत्तिको दुरुपयोग हो कि होइन । तर त्यसको मूल्यमा नजानुस् । त्यसरी नै मेरो त्रुटि कत्रो हो हेरौं ।’
उनले अगाडि भने, ‘कलम लगेर छोराछोरीलाई नदिने बिरलै छन् होला । यदि मुद्दामाथि मुद्दा चल्ने हो भने, दुरुपयोग नै हो भन्ने हो भने प्रत्येक कर्मचारीलाई मुद्दा हाल्न सकिन्छ । के हामी त्यसरी जान चाहेको हो र ? मैले न्यायिक प्रक्रियालाई कहिले नजरअन्दाज गरेको छु र ?’
फेरि पनि न्यायको कठघरामा उभिनुपर्छ भने त्यसका लागि जीवनभर तयार रहेको लामिछानेले बताए । तर आफूलाई न्यायालयप्रति विश्वास भएको उनले बताए । ‘कुन किसिमको सजाय भोग्नुपर्छ भनेर जीवनभर तयार भएर बसेको मान्छे हुँ,’ लामिछानेले भने, ‘मलाई न्यायालयमा विश्वास छ, न्यायमूर्तिहरु प्रति विश्वास छ, मलाई न्यायिक प्रक्रियामा विश्वास छ ।’
उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।
प्रतिक्रिया 4