+

जनैखटिरा किन आउँछ, के छ उपचार ?

२०७९ चैत  २० गते १२:५९ २०७९ चैत २० गते १२:५९
जनैखटिरा किन आउँछ, के छ उपचार ?

चलनचल्तीमा जनैखटिरा भनिए पनि यसलाई चिकित्सकीय भाषामा ‘हर्पस जोस्टर’ भनिन्छ । पहिले पहिले जनैखटिरालाई लिएर समाजमा एउटा भ्रम थियो, यस्तो खटिरा जनै फोहोर भएर आउँछ भन्ने । त्यही कारण जनै पोलेर त्यसको खरानी लगाउने गरिन्थ्यो ।

जनैखटिरा आउँदा धामीकहाँ झारफुक गर्न धाउनेहरु पनि थिए । तर जनै खटिराको वास्तविकता अर्कै छ ।

किन आउँछ जनैखटिरा ?

यदि कुनै व्यक्तिलाई सानो छँदा ठेउला आएको छ भने पछि वयस्क हुँदा उनीहरुलाई जनै खटिरा आउन सक्छ । किनभने जुन भाइरसले ठेउलाको समस्या हुन्छ, ठेउला निको भइसक्दा पनि उक्त भाइरस पूर्ण रुपले नष्ट भएको हुँदैन ।

वयस्क उमेरमा जब मान्छेलाई चिन्ता, तनाव, धपेडी हुन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तब उक्त भाइरस सक्रिय हुन्छ । अनि भाइरस छालाको सतहमा आउँछ । यसले गर्दा छालामा स-साना बिमिरा आउने, पानीको फोका जस्तो बन्ने र फुट्ने हुन्छ । यो एक ठाउँबाट क्रमशः फैलिंदै अन्यत्र पुग्छ । यदि समयमा नै उपचार भएन भने शरीरभर यस्तो खटिरा देखा पर्छ ।

कसरी थाहा हुन्छ ?

छालाको अन्य खटिरासँग जनै खटिरा पनि करिब मिल्दो देखिन्छ । सुरुमा छालामा स–साना बिमिरा आउने, पानीको फोका जस्तो हुने, चिलाउने, पोल्ने गर्न थाल्छ । यस्तो खटिराको कारण अत्यधिक दुखाइ हुन्छ र फैलिंदै जाँदा ज्वरो पनि आउन सक्छ ।

मान्छे सामान्य छ भने शरीरको आंशिक भागमा मात्र आउँछ । यदि उनीहरुमा टीबी, क्यान्सर वा अन्य दीर्घरोग छ भने शरीरमा यस्तो खटिरा चाँडै फैलिन्छ र निकै नै दुःख दिन्छ । दीर्घरोग भएकाहरुलाई घाउ निको भए पनि त्यस ठाउँमा पछिसम्म दुख्ने, पोल्ने हुन्छ ।

के छ त उपचार ?

छालामा खटिरा देखा पर्नासाथ छालारोग विशेषज्ञसँग भेट्नु उपयुक्त हुन्छ । उक्त खटिरा के हो ? जनै खटिरा हो वा होइन भन्ने कुरा पहिचान गर्नुपर्छ । यदि जनै खटिरा हो भने त्यसको लक्षण देखिएको तीन दिनभित्र नै एन्टिभाइरल औषधि चलाउनुपर्छ ।

खटिरा आउने बित्तिकै फैलिन थाल्छ, त्यसलाई रोक्न छिटो एन्टिभाइरल औषधि दिनु अति आवश्यक हुन्छ । शरीरको कुन भागमा खटिरा आएको हो सोही अनुसार औषधि लगाउनुपर्छ ।  शरीरका जुन अंगमा बिमिरा आएको छ सोही अनुसार चिकित्सकलाई देखाएर औषधि उपचार गर्नुपर्छ ।

जनैखटिरा बिग्रिएर देखिने जटिलता

औषधि उपचार नभएर जनै खटिरा बिग्रिन सक्छ । परिणामस्वरूप शरीरभरि घाउ आउने, पाक्ने, नसुक्ने र निको नहुने हुन्छ । जीवाणु संक्रमण हुने र भित्री अंगहरु पनि विस्तारै असर गर्न सक्छ ।

खानेकुरा बार्नुपर्दैन 

जनैखटिरा आउँदा धेरैले खानेकुरा बार्ने गर्छन् । शरीर कमजोर भएका कारण जनैखटिरा आउने हुँदा शरीरलाई शक्ति प्रदान गर्न माछा, मासु, गेडागुडी, दूध, दाल, लसुन, फलफूल, हरियो सागपातलगायत खानेकुरा समावेश गर्नुपर्छ । कुनै पनि खानेकुरा बार्नु पर्दैन ।

(डा. केयाल छाला तथा यौनरोग विशेषज्ञ हुन् । उनीस‍ँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

जनैखटिरा
डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९८६७ अध्यनन : एमडी, पीएचडी (डर्माटोलोजी), बोटक्स र लेजर उपचारमा विशेषज्ञता हाल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय