
२० चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्ससँग छलफल गरेका छन् । उनले उच्च ब्याजदरले समस्यामा रहेका व्यवसायीको नैराश्यता अन्त्य गर्दै मनोबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा नेपाल बैंकर्स संघका पदाधिकारीसँग सोमबार छलफल गरेका हुन् ।
शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग समन्वयन गरेर अगाडि बढ्न आफू तयार रहेको अर्थमन्त्री महतले बैंकरलाई बताए ।
अर्थमन्त्री महतले ब्याजदर तथा तथा नगद प्रवाहका कारण समस्यामा रहेका व्यवसायीको गुनासो सुनुवाइ गर्न समेत छलफलमा सहभागी बैंकर्ससँग आग्रह गरेको एक बैंकरले बताए ।
उनले ब्याजदर घटाउन सक्ने अवस्था छ कि छैन भनेर जिज्ञासा राख्दै सकिने अवस्था भए व्यवसायीको माग सम्बोधन गर्न भनेका हुन् ।
‘ब्याजदर उच्च हुँदा व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ, व्यवसाय गर्न आवश्यक नगद प्रवाह नहुँदा व्यवसाय गर्नै समस्या भयो भनिरहनु भएको छ,’ बैंकर्ससँग अर्थमन्त्रीले भने, ‘वास्तविकता के हो तपाईंहरुले नै बुझ्नु भएको छ । त्यसको सम्बोधन गर्न सकिन्छ भने हेर्नुहोला ।’
प्रतिक्रिया 4