+

ब्याडमिन्टनका प्रिन्स र फुटबलकी एन्जिलालाई एनएनआईपीए वर्ष खेलाडी अवार्ड

२०७९ चैत  २० गते १७:१० २०७९ चैत २० गते १७:१०
ब्याडमिन्टनका प्रिन्स र फुटबलकी एन्जिलालाई एनएनआईपीए वर्ष खेलाडी अवार्ड

२० चैत, काठमाडौं । ब्याडमिन्टनका प्रिन्स दाहाल र राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा १७औं एनएनआईपीए स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष खेलाडी तथा खेलकर्मीलाई सम्मान गर्दै आएको छ । वर्ष २०७८ को प्रदर्शनका आधारमा एनएनआईपीएले प्रिन्स र एन्जिलालाई सम्मान गरेको हो । दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

काठमाडौंमा आयोजित अवार्ड समारोहमा करातेकी चन्चला दनुवार र गल्फका उदीयमान खेलाडी उद्भाव आचार्यले प्रतिभाशाली खेलाडी पुरस्कार पाए ।

उनीहरुले जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए ।

गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट पूर्व एथलेटिक्स खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाटलाई सम्मानित गरियो ।

यो अवार्ड गजराज जोशी स्मृति ट्रष्टले प्रायोजन गरेको हो । रानाभाटले ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

खेलाडी संघले यस वर्ष उत्कृष्ट पारा एथलिट अवार्ड बोसिया खेलकी शुभेच्छा खतिवडालाई प्रदान गरेको छ । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

वर्ष खेलकुद पत्रकार अवार्ड कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधरले पाए । उनले २५ हजार रुपैयाँ पुरस्कारसमेत पाए ।

खेलाडी संघले २६ वटा ओलम्पिक खेलका एक एक खेलाडीलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरेको थियो । सम्बन्धित खेल संघले गरेको सिफारिसका आधारमा खेलाडी सम्मान गरिएको हो ।

२६ मध्ये नेपाल तेक्वान्दो संघले भने आफ्नो उत्कृष्ट खेलाडीको नाम नपठाएको संघले जनाएको छ । सिफारिसका आधारमा उत्कृष्ट खेलाडी सम्मान पाउनेहरुमध्येबाट एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली र वर्ष खेलाडीका रुपमा चयन गरिएको हो ।

एञ्जिला तुम्बापो एनएनआईपीए अवार्ड प्रिन्स दाहाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय