
२० चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलाई कारवाी गरेको छ । १९ चैत आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसमम कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारवाही गरेको हो ।
बोर्डको विभागीय अध्ययनमा प्रधानले अनाधिकृत रुपमा सेयर कारोबार गरेको पुष्टि हुने आधार देखिएपछि २४ मंसिरमा प्रधानलाई गैरकानुनी रुपमा सेयर कारोबार गरेको आरोपमा अनुसन्धान गर्ने तहकिकात अधिकृत नियुक्त गरेको थियो । अध्ययन अनुसार प्रधानले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको पाइएको छ ।
प्रधानलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार कारवाही गरेको बोर्डले जनाएको छ ।
‘कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारण गरेका व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पुरा नभएसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन’ धितोपत्र सम्बन्धी ऐनको दफा १०८ मा भनिएको छ ।
धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ ।
‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न पाइने छैन,’ धितोपत्र दर्ता निष्कासन नियमावलीमा भनिएको छ ।
तर, प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए ।
२४ मंसिरमा नै बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेमाथि पनि अनाधिकृत रुपमा सेयर कारोबार गरेको देखिएको भन्दै कारवाही गर्ने निर्णय गर्दै भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को छानविन गर्ने निर्णय गरेको थियो ।
बोर्डले गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानमाथि ‘इन्साइडर ट्रेडिङ’ छानविन गर्न भन्दै तहकिकात अधिकृत नियुक्त गरेर छानविन सुरु गरेको थियो ।
रिडी पावरका तत्कालीन अध्यक्ष न्यौपानेलाई बोर्डले यसअघि नै गैरकानुनी सेयर कारोबार गरेको आरोपमा ७५ हजार जरिवाना र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक र व्यवस्थापक बन्न रोक लगाउनुको साथै ८ चैतमा इन्साइडर ट्रेडिङको आरोपमा मुदा दायर गरेको छ । अनुन्धानमा न्यौपानले कम्पनीको अध्यक्षमा बहाल रहँदा १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म कम्पनीको सेयर खरिद बिक्री गरेको लेखिएको बोर्ड स्रोतको दाबी छ ।
उनले कम मूल्यमा सेयर खरिद गरेर कम्पनीको भित्री सूचनाको आधारमा बढी मूल्यमा सेयर बिक्री गरेको देखीएको धितोपत्र बोर्ड स्रोतले दाबी गरेको छ । उनले सेयर मूल्यमा प्रभाव पर्ने भित्री सूचनाको आधारमा सेयर खरिद गरी नाफा कमाएर बिक्री गरेका स्रोतको दाबी छ । यता ज्ञानेन्द्रलाल प्रधानले भने सेयर बिक्री गरेको देखिए पनि उक्त अवधिमा सेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णणो भित्री सूचना नदेखिएको बोर्डको एक अधिकारीले बताए ।
उनले कम्पनीको सञ्चालकबाट हटेको एक वर्ष पुरा नहुँदै सेयर कारोबार गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा ७ अनुसार नगद जरीवाना र ऐनको दफा १०८ अनुसारको कारवाही भएको हो । प्रधानको छानविन प्रतिवेदन सकराी वकीलको कार्यालयमा पुगेको भएपनि उनिमाथि मुद्धा दर्ता भने भएको छैन । उनिमाथि ‘इन्साइडर ट्रेडिङ’ गरेको पुष्टि हुने आधार छ की छैन भनेर सरकारी वकीलको कार्यालयले प्रतिवेदन अध्ययन गरिरहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया 4