
२१ चैत, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले काठमाडौंमा छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका उनले शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।
प्रधानमन्त्रीसँग साम्पाङले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना बुझाएका छन् । यस्तै करिब १ अर्ब ५० करोड लागत लाग्ने धरान उपमहानगरपालिका–२० को बानियाँ जलाशय निर्माण र खानेपानी तथा मोटरहरु खरिद गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने माग पनि उनले प्रधानमन्त्रीसमक्ष राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले यसअघि राजनीतिक मुद्दा बनेको धरानको खानेपानी समस्या आफूले समाधान गरिछाड्ने बताएका छन् । मेयर साम्पाङसँगै धरानका उपमेयर अइन्द्रबिक्रम बेघा पनि विभिन्न मन्त्रालय निकायहरुमा पुगेका छन् ।
उनीहरुले धरान क्षेत्रबाटै प्रतिनिधिसभामा निर्वाचित जसपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राइलाई भेटेर धरानको शिक्षा सम्बन्धी योजना सुनाएका थिए । मेयर साम्पाङले मन्त्री राईलाई भेटेर बधाई दिनुका साथै धरानको शैक्षिक समस्या सुनाएका छन् ।
मंगलबार भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री गुरुङलाई भेटेर आवश्यकताको सूची बुझाएको पनि साम्पाङले फेसबुकमा लेखेका छन् ।
मंगलबार नै उनीहरुले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट्दैछ । उपमेयर बेघाले संघीय सरकारका सबै मन्त्रीहरुसँग भेट गरेर योजना बुझाउने उद्देश्य रहेको बताए ।
धर्ना बस्ने घुर्की
धरानका मेयर, उपमेयरको टोलीले सोमबार नै योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई कोशीबाट धरानमा खानेपानी ल्याउने योजनामा बजेट माग गरेको थियो । श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन अनुसार मात्र बजेट खर्च गर्नुपर्ने सुनाएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा मेयर र उपमयेरलाई श्रेष्ठले भनेका छन्, ‘कोशीबाट धरानमा खानेपानी लैजान २ अर्ब लाग्ने भए, बहुवर्षीय योजना हुनुपर्थ्यो । यही वर्ष कम्तीमा २० प्रतिशत बजेट हालेको हुनुपर्थ्यो अनि मात्रै आगामी वर्षमा ठूलो बजेट हाल्न सकिन्थ्यो ।’ उनले संघीय सरकारले बजेट खर्च गर्नुअघि विस्तृत परियोजना प्रतिवेदन बनाएको हुनुपर्ने, प्रयोग हुने जमिन, कानुनी अवरोधलगायतका विषय समाधान भएको हुनुपर्ने बताएका थिए ।
जवाफमा मेयर साम्पाङले आयोगका उपाध्यक्षलाई भने, ‘तपाईं योजना प्रति सकरात्मक भइदिनुस्, हामी पनि सकारात्मक हुन्छौं । यो फेरि हाम्रो जबर्जस्ती पनि हो’, साम्पाङले श्रेष्ठलाई भने, ‘खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैं धर्ना बस्न आउँछु पनि भनेको छु । खानेपानी नाथे पनि सरकारले दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु नि ।’ उनले खानेपानी दिन नसके आफू सिंहदरबारमै बस्ने बताए ।
मेयर साम्पाङले ४ दशकदेखि खानेपानीको एजेण्डा देखाएर राजनीति भइरहेको भन्दै आफू पनि त्यही मुद्दा लिएर मेयर निर्वाचित भएको भन्दै दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो चाहना भएको सुनाए ।
साम्पाङ काठमाडौं आएदेखि सामाजिक सञ्जालमा पनि सक्रिय छन् । उनले धरानमा आफ्नै नेतृत्वमा भएको श्रमदान सम्झिरहेको पनि उल्लेख गरेका छन् । ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन, आइ मिस पाइप पुलिङ एण्ड स्टोन क्यारिङ’, उनले फेसबुकमा लेखेका छन् ।
साम्पाङ कहिले सिंहदरबारमा कर्मचारीसँग सेल्फीमा देखिन्छन् भने, कहिले आफैं सेल्फी हान्छन् । सिंहदरबारमा जम्काभेट भएकाहरु मेयर राइलाई भेटेर सेल्फी लिइरहेको पनि साम्पाङले सामाजिक सञ्जालमा हालेको भिडियोमा देखिन्छ ।
प्रतिक्रिया 4