
२१ चैत, काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था मात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।
‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’ मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनिन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका बेला इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्ने व्यवस्था गर्ने बताउँदै आएका थिए ।
प्रतिक्रिया 4