
२१ चैत, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि राष्ट्रिय सहकारी महासम्मेलन आयोजना हुने भएको छ । सम्मेलन २३ चैतदेखि तीन दिनसम्म चल्ने भएको छ ।
काठमाडौंमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करीब १ हजार जना सहभागी हुने आयोजक सहकारी महासंघले जनाएको छ ।
महासंघले महासम्मेलनको तयारी पुरा भइसकेको जानकारी दिएको छ । महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धि, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने महासंघका अध्यक्ष मिनराज कँडेलले जानकारी दिए ।
महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिने उनले बताए । दक्षिण एशियाका अन्य देशहरू मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको कँडेलले बताए । महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौंमा हुने कँडेलले बताए ।
महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समापन २५ चैतमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया 4