२१ चैत, काठमाडौं । नेपालले ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा भियतनामसँग खेल्दै छ । बुधबार पहिलो लेग खेल्न लागेको नेपाल बलियो प्रतिस्पर्धी भियतनामलाई पछि पार्दै दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको छ ।
खेलअघिको पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले दोस्रो चरणमा पुग्नकै लागि खेल्ने बताएका हुन् । ‘हाम्रो अगाडि बलियो प्रतिस्पर्धी त छ,’ प्रशिक्षक थापाले भने, ‘हामीले नेपालको फुटबल माथि उकास्नका लागि भए पनि आफूभन्दा वरीयतामा माथि भएकासँग खेल्नुपर्छ ।’
भियतनाम आउँदो जुलाईमा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकम खेल्ने टिम हो, जसले सन् १९९९ देखि लगातार एसिया कप खेलिरहेको छ । गत वर्ष भारतमा भएको एसिया कपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।
भियतनामसँग ओलम्पिक छनोेट खेल्न लागेको नेपाल भने दक्षिण एसियाली क्षेत्रको उपविजेताभन्दा माथि उठ्न सकेको छैन । महिला फुटबलको फिफा वरीयतामा नेपाल १००औं स्थानमा छ भने भियतनाम त्यो भन्दा निक्कै माथि ३३औं स्थानमा । ‘भियतनाम हामीभन्दा वरीयतामा माथि छ र बलियो छ,’ कप्तान सुब्बाले भनिन्, ‘तर वरीयताले धेरै असर गर्दैन । हामीले पहिले पनि ओलम्पिक छनोटमा म्यानमारसँग बराबरी खेलेको हो ।’
भोलिको खेलमा जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताउँदै कप्तान सुब्बा भन्छिन्, ‘अन्तिमसम्म पनि हामीले फाइट गर्यौं भने नतिजा राम्रो नै आउनेछ ।’
यो छनोट प्रतियोगिताकै तयारीका लागि नेपालले गत महिना भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो । दुई खेलमै बराबरी गरेको नेपालको मनोबल उच्च छ । भियतनामकी कप्तान हुइङ नुले पनि भारतसँग नेपालले राम्रे प्रदर्शन गरेको भन्दै नेपाललाई रुपमा आफूहरुले बलियो प्रतिस्पर्धीका रुपमा लिएको बताइन् ।
नेपालको डिफेन्स लाइन युवामा भर
ओलम्पिक छनोटको तयारीका लागि थापाले एक महिनादेखि टोलीलाई प्रशिक्षण गराइरहेका छन् । तर नेपाली टिममा दुई महत्वपूर्ण खेलाडी छैनन् । युवा मिडफिल्डर प्रिति राई चोटकै कारण टिम बाहिर छिन् भने भारतसँगको खेलमा घाइते भएकी गिता राना अझै मैदान फर्किन सकेकी छैनन् ।
डिफेन्सको मेरुदण्ड हुन् गिता राना । उनको अनुपस्थितिमा नेपालको डिफेन्स लाइन केही रित्तो भने पक्कै देखिनेछ ।
त्यस्तै पुनम जर्घा मगरले पनि राष्ट्रिय टिमबाट सन्यास लिइसकेकी छिन् । दुई भरपर्दा डिफेन्डर नहुँदा नेपाली टिम युवा खेलाडीमा भर पर्न बाध्य छ ।
उनीहरुको अनुपस्थितिमा प्रशिक्षक थापाले समीक्षा घिमिरे र अमृता जैशीलाई सेन्टर डिफेन्सको जिम्मा सुम्पिएका छन् । राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गर्दै आएकी पुजा राना मगरले पनि टिममा कमब्याक गरेकी छिन् ।
‘हामीसँग भरपर्दी खेलाडी गिता छैनन् । उनको कमी महसुुस त हुन्छ तर हामीले उनको प्रतिस्थापनमा युवा खेलाडीलाई ल्याएका छौं’, प्रशिक्षक थापाले भने ।
प्रशिक्षणको समयमा युवा खेलाडीले राम्रो प्रदर्शन गरिरहेको भन्दै उनले खेलमा पनि उनीहरुले राम्रो गर्ने विश्वास जनाए । थापाले भने, ‘उनीहरुले जसरी प्रशिक्षणमा खेल्छन्, मलाई विश्वास छ प्रतियोगितामा पनि उनीहरुले राम्रो खेल्नेछन् ।’
नेपालले पछिल्लो एक महिनामा आफ्नो बलियो पक्षलाई थप सुदृढ बनाउँदै कमजोरी सुधारेर मैदानमा उत्रिने तयारी गरिरहेको प्रशिक्षक थापाले बताए । ‘हामीले भारतसँगको मैत्रीपूर्ण खेलमा बराबरी खेलेपछि मनोबल उच्च राख्दै कमजोर पक्षमा सुधार र बलियो पक्ष झन सुदृढ बनाउँदै लगेका छौं ।’
नेपाली महिला टिम हाल निकै एकत्रित भएको तथा नेपालको लागि निकै बलियो पक्ष रहेकी सावित्रा भण्डारी ‘साम्बा’ पुन लयमा फर्कदा नेपाल पनि बलियो टिम बनेर भियतनामलाई टक्कर दिने तयारीमा छ । थापा गौरव गर्छन्, ‘हाम्रो बलियो पक्ष सावित्रा भण्डारी, साम्बा हो । टिम भएर खेल्नुपर्छ ।’
पहिलो खेलमा निकै आक्रामक भएर खेल्ने तथा खेलमा विपक्षी भियतनामलाई बुझ्दै रणनीति बनाएर अघि बढ्ने नेपाली प्रशिक्षक थापाको योजना छ । ‘हामीले भियतनामलाई मार्क गरिरहेका छौं । सुरुमा आक्रमक खेल्ने छौं । उनीहरुको खेलाडीको केही जानकारी आएकाले हामी त्यसै अनुरुप तयार छौं’, थापाले भने ।
नेपाल सम्मिलित समूह सीमा ४ टिम राखेर छनोटको तालिका सार्वजनिक भएको थियो । तर प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिता अगावै नाम फिर्ता लिए । त्यसैले समूहमा रहेका दुई टिम नेपाल र भियतनामले बुधबार र शनिबार दशरथ रंगशालामा २ खेल खेल्न लागेका हुन् । डबल लिगको विजेता टोली छनोटको अघिल्लो चरणमा पुग्ने छ ।
नेपाली महिला टिमको ओलम्पिक छनोटको इतिहास हेर्ने हो भने यस अघिको छनोटमा नेपालले तीन टिमसँग बराबरी खेल्दै पहिलो चरण पार गरेको थियो । नेपालले भारत, म्यानमार र बंगालादेशसँग १–१ बराबरी गर्दै प्रतियोगिता सकेको हो ।
हामी खेल्न मात्रै होइन जित्न आएका हौं : भियतनाम
भियतनामको टिम आइतबार छनोट खेल्न नेपाल आइपुगेको छ । भियतनामका प्रशिक्षक माइ ड्युक चाङले आफूहरु नेपाल खेल्न मात्रै नभइ जित्न आएको बताए । पत्रकार सम्मेलनमा तयारी बारे बोल्दै उनले भने, ‘हामी लामो यात्रा गरेर नेपाल खेल्न मात्रै होइन जित्न आएका हौं ।’
त्यस्तै, भियतनामकी कप्तान हुइङ नुले पोर्चुगिज क्लब लाङ्क एफसी भिलाभिडेन्सबाट खेल्दै आएकी छिन् । ३१ वर्षीय नुले २०२२ मा यस क्लबसँग अनुबन्धित भएकी हुन् । त्यसअघि उनले हो छि मिन सिटीबाट २००७ देखि २०२२ सम्म खेल्दै आएकी थिइन् ।
उनले पोर्चुगिज फुटबलबाट जति पनि सिकेको कुराहरु यस प्रतियोगितामा लागु गर्ने बताएकी छिन् । ‘मैले जति पनि कुरा पोर्चुगलमा खेल्दा सिकें त्यो यो प्रतियोगितामा देखाउने छु’, उनले भनिन्, ‘हामी यहाँ जसरी भए पनि जित्न आएका हौं ।’
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4