
२१ चैत, वीरगञ्ज । सरकारले अधिग्रहण गर्ने भनेको जग्गाको मुआब्जा नपाएपछि वीरगञ्ज– २५ सिर्सिया खल्वाटोलका बासिन्दाले सुख्खा बन्दरगाहको मुख्य गेटमा धर्ना दिएका छन् । मुआब्जा लिन बाँकी रहेका स्थानीयले मंगलबार बन्दरगाहको मुख्य गेटमा धर्ना दिएका हुन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
उनीहरुको धर्ना बस्दा सुख्खा बन्दरगाहमा सवारी साधन आवागमन ठप्प भएको थियो । सरकारले जग्गा अधिग्रहण गर्न थालेको ८ वर्ष बितेपनि जग्गा अधिग्रहणको प्रक्रिया टुंगिएको छैन । ६ वर्षदेखि सरकारले रोक्का गरेर राखेको जग्गाको मुआब्जा अहिलेसम्म पनि नदिएको भन्दै सिर्सियाका जग्गाधनीले धर्ना दिएका हुन् ।
जग्गा रोक्का हुँदा छोरा छोरीको विवाह, शिक्षा, औषधोपचार जस्ता कार्यमा रकम आवश्यकता पर्दा समेत बेचबिखन गर्न नपाइएको जग्गाधानीले गुनासो गर्दै आएका छन् ।
सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले मुआब्जाको माग गरेर स्थानीयले धर्ना दिएको र उनीहरुलाई सम्झाएर पठाइएको बताए । जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकमा मुआब्जा रकम नपाएकाको विवरण संकलन गरी पठाउने सहमतl भएको उनले बताए ।
‘हामी कार्यालय जाँदा उहाँहरु बिहानैदेखि धर्नामा बसिरहनुभएको रहेछ, जिल्ला प्रशासन कार्यालयमा गएर छलफल गर्यौं,’ उनले भने ‘ मालपोतले सहयोग नगर्दा मुआब्जा पाउनुपर्ने जग्गाधनीको लिष्ट तयार गर्न समस्या भइरहेको कुरा आयो, १ सय १७ जना जतिले मुआब्जा पाउन बाँकी रहेको कुरा आएको छ । लिष्ट तयार गरेर माथिल्लो निकायमा पठाउने कुरा भएको छ ।’
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार ६२ बिघामध्ये ६८२ वटा कित्ताको ४३ बिघा जमिनको मुआब्जा वितरण भइसकेको छ । ३७२ वटा निवेदन मालपोतबाट प्रक्रिया पुरा भएर जिल्ला प्रशासन कार्यालयमा थन्किएको छ ।
सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले जग्गा अधिग्रहणको प्रक्रिया टुंगो लगाउन ०७९ पुस १७ गते अर्थ मन्त्रालयमा पत्राचार गर्दै २ अर्ब ८० करोड बजेट माग गरेको छ ।
प्रतिक्रिया 4