+
+

बेथिति बढ्दै गएपछि निगमले भन्यो : गल्ती गर्नेलाई कारवाही गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १३:४६

२२ चैत, काठमाडौं । पछिल्लो समय नेपाल एयरलाइन्स भित्र बेथितिका घटना बढ्दै गएपछि व्यवस्थापनले गल्ती गर्नेहरुलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल वायु सेवा निगमका बेथितिप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समेत असन्तुष्टी व्यक्त गरेका थिए ।

निगमका प्रवक्ता रमेश पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब उप्रान्त यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित कर्मचारीलाई चेतावनी दिइएको छ, छानविनबाट प्राप्त कारण विश्लेषण गरी सुधारात्मक उपायको अवलम्बन एवम् गल्ती गर्नेहरुलाई कारवाही गरिने जानकारी गराइन्छ ।’

नेपाल वायुसेवा निगमले मलेसियाको क्लावालाम्पुरमा समयमै उडान अनुमति पत्र नवीकरण नगर्दा चार्टर्ड उडानको सहारा दिनु परेको थियो । यहाँ अहिले निगमले नियमित उडानको अनुमति पाइसकेको छ । यस सम्बन्धमा अपरेसन विभाग र मलेसिया स्टेसनको कमी–कमजोरी रहेको स्वीकार गर्दै निगमले पदाधिकारीलाई कारवाही गरेको जनाएको छ । पाइलट बिरामी भएपछि काठमाडौं–दुबई उडान ११ घण्टा डिले भएको घटनामा अपरेसन विभागका निर्देशकलाई स्पष्टीकरण सोधिएको निगमले जनाएको छ । त्यसो त निगमका कार्यकारी अध्यक्ष समेत नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम नमानेको कसुरमा कारवाहीमा परेका छन् ।

निगममा पछिल्लो समय विकृतिका घटना बढेपछि मन्त्री किरातीले भनेका थिए, ‘यी घटनाक्रमले मलाई निरास बनाएको छैन, बरु थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको छ, हामीलाई थाहा छ, रोग पुरानो हो, अब धेरै पिडा सहेर बस्न सक्ने स्थिति हामीलाई छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?