
२२ चैत, काठमाडौं। सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने दावी गरेका छन् ।
वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।
बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे ।
उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।
उनले भने, ‘ यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयू छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर, तपाईहरु ढुक्क भए हुन्छ-यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।
उनले भने, ‘हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं।मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं।’
प्रतिक्रिया 4