+
+

उद्योग वाणिज्य महासंघ निर्वाचन : यस्तो बन्यो चुनावी समीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १८:३३

२२ चैत, काठमाडौं । सरकार पछि देशभर सबभन्दा ठूलो सञ्जाल रहेको व्यावसायिक प्रतिष्ठान नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही २९ चैतमा हुँदैछ । विधानतः हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतमा स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्ष र कार्यसमितिमा महत्वपूर्ण अन्य भूमिकाका लागि हुने निर्वाचनको मिति नजिकिएसँगै पेचिलो रस्साकस्सी बढेको छ ।

वरिष्ठ उपध्यक्षसहित वस्तुगत, एसोसिएट र जिल्ला–नगरका तीन उपाध्यक्ष पद तथा कार्यसमतिका लागि महासंघमा यसपटक स्पष्ट तीन धार देखिएको छ । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानल घोषणा गरेरै प्रतिस्पर्धामा उत्रिएका छन् ।

मंगलबार वरिष्ठ उपाध्यक्षका तीनैजना आकांक्षीले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचन समितिको कार्यालयकाअनुसार महासंघको कुल ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।

यसमध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी निर्विरोध भएका छन् ।

महासंघको भावी नेतृत्वका पेचिलो मानिने वरिष्ठ उपाध्यक्ष पदका लागि दुई वर्तमान उपाध्यक्ष र एक पूर्वउपाध्यक्षको प्रतिस्पर्धा निश्चित भएको छ । हालका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाइ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

तीन उपाध्यक्षमा ८ प्रतिस्पर्धी

महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्रमा तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्य, एसोसिएट र वस्तुगत उपाध्यक्षका ८ उम्मेदवार छन् । वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यस्तै वस्तुगत उपाध्यक्षमा सकुन्तला हिराचन, मनिषलाल प्रधान र मेहराज ढकाल उम्मेदवार छन् । एससिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।

तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका सुकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।

७ कार्यसमिति सदस्य प्रदेशतर्फ १५ उम्मेदवारी, एक निर्विरोध

सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन् । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रस्पिर्धामा छन् ।

मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उठेका छन् । बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ भने गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् ।

सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।

वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?