२२ चैत, काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो ।
विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
कर्णालीका विराजले ५२ बलमा ५९ रन बनाए । खेमराज खड्काले ४९ बलमा ४९ रन नै जोडे । सीईसीका लागि दयानन्द मण्डले ४ विकेट लिए ।
१३५ रनको लक्ष्य पछ्याएको सीईसी एक बल अगावै १२४ रनमा अलआउट भयो । सीईसीका लागि सन्दिप विष्टले सर्वाधिक ३७ र विपिन न्यौपानेले २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णाली क्रिकेट एकेडेमीका लागि विराट भण्डारी र लक्की बामले समान २ विकेट लिए ।
यस्तै दोस्रो खेलमा समूह बीमा रहेको पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले हरायो ।
जनकपुरले दिएको १०२ रनको लक्ष्य पोखराले १७ ओभरमा ४ विकेट गुमाउदै १०६ रन बनाउँदै पूरा गरेको हो ।
पोखराका लागि सिब्रिन श्रेष्ठले अविजित २७ रन बनाए । सोहेल कुँवरले २९ र रसफल श्रेष्ठले १९ रन जोडे ।
जनकपुरका अखिल सर्वनले २ तथा राजेश कुमार दास र रोहन यादवले समान १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
जनकपुरका रोशन कुमार यादवले सर्वाधिक २५ रन बनाउँदा साजन कुमार षादले १२ रन जोडे । पोखराका प्रदिप अर्यालले ३ तथा नितेश गिरी, सिब्रिन श्रेष्ठ र समिर भुजेलले समान २ विकेट लिए ।
प्रतियोगितामा बुधबार समूह ए अन्तर्गत इलाम क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमी तथा समूह बी मा रहेको स्टार क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीबीच खेल हुनेछ ।
प्रतिक्रिया 4