
२२ चैत, जनकपुरधाम । बटेश्वर गाउँपालिका—१ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे ब्लक बनाउँदा बनाउँदै छाडिएको छ (हेर्नुहोस माथिको तस्वीर) ।
यो अधुरो काम आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले गरेको हो । उसले यो कामको ठेक्का ४६ लाख ५० हजारमा लिएको थियो ।
तर अहिलेसम्म काम पूरा भएको छैन । काम पूरा नभए पनि गाउँपालिकाका लेखा अधिकृत सुमन पुरी गाउँपालिकाले ठेकेदार कम्पनीलाई ४५ लाख ६५ हजार ९८३ रुपैयाँ भुक्तानी दिइसकेको बताउँछन् ।
विद्यालयका प्रधानाध्यापक श्याम महतो ठेकेदारले बांगो पिलरमाथि छत ढलान गरेर छाडेको बताउँछन् । नगरपालिकाले काम पूरा नभइ भुक्तानी गरेकोमा असन्तुष्ट उनी भन्छन्, ‘हामीले कराउँदा कराउँदै पनि हामीसँग समन्वय नै नगरि पालिकाले लगभग पुरै भुक्तानी गरिसकेको छ ।’
बटेश्वर–२ को श्रीजनप्रिय माविको निर्माणधीन आठ कोठे भवन पनि लक्ष्मी माविकै हालतमा छ । श्रीजनप्रियमा यसरी अधुरो काम गरेर छाड्ने ठेकेदार आर्यन कन्ट्रक्सन नै हो ।
विद्यालयका प्रधानाध्यापक राजकुमार राउत आर्यनले आर्थिक वर्ष २०७७/०७८ मा ८३ लाखको ठेक्का पारेको बताउँछन् । रातारात पिल्लर ठड्याए पनि काम पूरा नगरी ठेकेदार गायब भएको उनले बताए ।
गाउँपालिका अध्यक्ष रामअशिष महतो ससर्त अनुदानको बजेटबाट भवनको यती काम आफ्नै निगरानीमा भएको बताउँछन् । ‘बजेट फ्रिज हुन्छ भनेर हतारहतार २२ दिनमै निर्माण गरिएको हो’, उनले भने, ‘म आफै बसेर काम गराएको हुँ ।’
आर्यन कन्ट्रक्सनलाई बटेश्वर कति फापेको छ भने पालिकाको प्रशासनिक भवनमा दोश्रो तला थप्ने ५९ लाख ९९ हजार १७२ रुपैयाँको ठेक्का पनि उसैले पायो । र, जसोतसो छत र वाल सम्म बनाई ५७ लाख १८ हजार ५७९ रुपैयाँ भुक्तानी लिएर हिड्यो ।
पालिका कार्यालय अगाडी महादेव मन्दिर निर्माणको ठेक्का पनि आर्यनले नै पायो र जग, पिलर अनि त्यसमाथि छत हालेर अलपत्र छाडिदियो । ५० लाख रुपैंयाँको ठेक्काबाट उसले २४ लाख ७६ हजार १४६ भुक्तानी लिएको छ । छत चार ईन्च हुनु पर्नेमा अढाइ इन्चको मात्र हालेको छ ।
पालिकाका एक कर्मचारी बटेश्वरमा आर्थिक वर्ष २०७८/०७९ को ठेक्का सेटिङमा भएको बताउँछन् । उनका अनुसार त्यसबेला पालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखा अधिकृत सुमन पुरी थिए ।
‘त्यसबेला सबैजसो योजनाको ठेक्का आर्यन कन्ट्रक्सनलाई दिने कागज बर्दिबासमा बनाइएका थिए’, ती कर्मचारी भन्छन्, ‘बटेश्वर दरबन्दी भएका ईन्जिनियर जितेन्द्र यादवलाई जिम्मेवारी नदिइ रौतहटका सिभिल इन्जिनियर शौरभ कुशवाहालाई करारमा बटेश्वर ल्याइएको थियो ।’
बटेश्वरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हुँदा आव ०७३/७४ मा फर्निचर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन १६ गते विशेष अदालतमा ४ लाख ४७ हजार ५०० बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता उनी निलम्बनमा छन् ।
बटेश्वर पालिकाका तत्कालीन अध्यक्ष क्षेत्री ८ लाख रुपैयाँ घुस लिँदा १८ फागुन २०७७ मा अख्तियारको फन्दामा परे । अख्तियारले रंगेहात समात्न लागेपछि त्यसबेला घुस रकम फालेर फरार भएका उनी चार महिनापछि अदालतमा हाजिर भएका थिए ।

हालका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माले अधुरो योजनाहरुलाई अगाडि बढाउन समस्या भएको बताउँछन् । ‘यी योजनामा उजुरबाजुरको सम्भावना पनि देखियो’, उनले भने, ‘त्यो अवस्थामा झन् समस्या हुने भएकोले योजनाहरुलाई पूर्णता दिन असहज छ ।’
वर्तमान पालिका अध्यक्ष महतो श्रीजनप्रिय माविको भवनबाहेक अन्य योजनामा आफ्नो संलग्नता नरहेको बताउँछन् ।
प्रतिक्रिया 4