२३ चैत, काठमाडौं । कर्णाली क्रिकेट एकेडेमीले पोखरामा भइरहेको बलियो नेपाल कप टी-२० अन्तर एकेडेमी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
समूह ए अन्तर्गत बिहीबार पोखरा रंगशालमा क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले इलाम क्रिकेट एकेडेमी फर युथलाई ३२ रनले हरायो ।
१३ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले बिराट सिंह भण्डारीको अर्धशतकमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
लगातार दोस्रो अर्धशतक प्रहार गरेका विराटले ३८ बलमा ६२ रन बनाए । मनिस थापाले ३१ बलमा ३५ रन जोडे । इलामका सुयोग भट्टराई, दिपुकुमार भुजेल र अलिस मण्डलले समान १ विकेट लिए ।
१२३ रनको लक्ष्य पछ्याएको इलामाले १३ ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । इलामका लागि दिपु भुजेलले सर्वाधिक ३५ रन बनाए । एलिस मन्डल २० रनमा अविजित रहे ।
कर्णाली एकेडेमीका लागि आदित्य शाहले ९ रन खर्चेर एक्लै ४ विकेट लिए । कर्णाली समूह ए मा लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब पल्सर सीईसी र इलामबीच हुने खेलको विजेता सेमिफाइनल पुग्नेछ ।
समूह बी अन्तर्गत बिहीबारै भएको खेलमा स्टार क्रिकेट एकेडेमीले पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको स्टार एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । स्टार एकेडेमीका लागि विशाल भुजेलले १८, सुमित पराजुलीले १६ र महेश भाइले अविजित ११ रन बनाए । पोखराका प्रदीप अर्यालले ३ तथा नितेश गिरी र सिब्रिन श्रेष्ठले समान २ विकेट लिए ।
९२ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र बनायो । पोखराका लागि रोहित चन्दले बनाएको ९ रन नै व्यक्तिगत उच्च रह्यो । अमर मिश्रले ६ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादव र महेश भारले २-२ विकेट लियो ।
प्रतिक्रिया 4