+

अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

२०७९ चैत  २४ गते १०:०२ २०७९ चैत २४ गते १०:०२
अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन ।

यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ ।

मानसिक रोग भन्नासाथ डिप्रेसन, एन्जाइटीको मात्र चर्चा हुन्छ । तर धेरैलाई भित्रभित्रै तर्सारहेको सिजोफ्रेनियाबारे सामान्य जानकारी पनि हुँदैन । यो समस्याको लक्षण, असर, जटिलताबारे बुझ्नैपर्छ ।

के हो सिजोफ्रेनिया  ?

यो गम्भीर प्रकारको मानसिक रोग हो । मस्तिष्कमा केही रासायनिक सन्तुलनहरू छन् । कतिपय अवस्थामा दिमागमा हुने डोपामाइन र ग्लुटामेट जस्ता न्युरोट्रान्स मिटरसहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनमा समस्या आउँदा स्किजोफ्रेनिया हुन सक्छ ।

कसलाई देखिन्छ यो रोग ?

सामान्यतया १० वर्षका बालबालिकादेखि वृद्धा उमेरका व्यक्तिसम्ममा यो रोग देखिन सक्छ । जसमध्ये पनि २० देखि ४० वर्षसम्मको उमेर समूहलाई यो बढी देखिएको विभिन्न तथ्यांकमा उल्लेख छ ।

किन हुन्छ ?

सिजोफ्रेनिया कुनै किसिमको स्वास्थ्य परीक्षणबाट पत्ता नलाग्ने भएकाले हालसम्म यसको ठोस कारण प्रमाणित भइसकेको छैन । तसर्थ, यसको लागि बिरामीको व्यवहारलाई नै अध्ययन गर्नुपर्ने हुन्छ ।

तर पनि केही कारण जिम्मेवार मानिन्छ । यद्यपि, लागूपदार्थ सेवन तथा वंशाणुगत  रोगको जोखिमलाई बढावा दिन्छ । यसबाहेक जन्मजात जटिलताहरू कुपोषण वा अन्य भाइरसको जोखिमले मस्तिष्कको विकासलाई असर पार्दा पनि यो रोग लाग्न सक्छ ।

बाल्यकालमा कुनै न कुनै मानसिक पीडाको सिकार हुँदा पनि यो रोग विकास हुन सक्छ । उदाहरणका लागि सानै उमेरमा आमाबाबुमध्ये एकको मृत्युले पनि बच्चालाई सिजोफ्रेनिया जस्ता गम्भीर समस्याबाट ग्रस्त बनाउन सक्छ ।

कसरी थाहा हुन्छ ?

सिजोफ्रेनिया भएका व्यक्तिमा लक्षणहरू फरक–फरक देखिन सक्छन् । लक्षण आफैं आउने जाने पनि हुन सक्छ । यसबाहेक यी लक्षण सम्पूर्ण जीवनकालमा दुई वा तीन पटक मात्र देखा पर्न सक्छन्् ।

भ्रम

सिजोफ्रेनिया हुँदा केही यस्ता आशंका र भ्रम पनि मनमा पर्छन्, जुन वास्तवमा सत्य हुँदैनन् । मनमनै  कोही छ, कसैको आवाज सुनेको जस्तो लाग्न सक्छ । त्यसले उनीहरुलाई त्रसित गराउने वा कल्पना गरिएको व्यक्ति वा आवाजले उसलाई हानि पुर्‍याउन सक्छ । परिवारलाई नै सखाप पार्न आयो भन्ने जस्तो भ्रम पैदा हुन सक्छ ।

सोच्ने र व्यवहार गर्ने तरिका असामान्य

सिजोफ्रेनियाबाट पीडित व्यक्तिको सोच्ने र बोल्ने तरिकामा फरक आउन थाल्छ । विशेषगरी यदि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोधियो भने उनीहरुको जवाफ सामान्य व्यक्तिको जवाफभन्दा पूर्ण रूपमा फरक दिन सक्छन् ।

साथै केही अर्थहीन शब्दहरू प्रयोग गर्ने जुन सामान्य मानिसले बुझ्न सक्ने क्षमतामा पनि नहुन सक्छ ।

अव्यवस्थित रहनु

यी लक्षण धेरै रूपमा देखा पर्न सक्छन्, कहिले उग्र हुने, कहिले शान्त हुने, कहिले एकोहोरो भएर एकै ठाउँमा बसिरहने, कसैको कुरा नसुन्ने, अनुपयुक्त वा अनौठो आसनमा बस्ने र सुत्ने, कसैले बोलाएमा प्रतिक्रिया नदेखाउने जस्ता लक्षण देखिन्छन् ।

त्रासमा रहनु

सिजोफ्रेनियाभएका प्रायः व्यक्ति एक्लै बस्ने, ढोका थुन्ने, ढोका वा झ्याल कसैसँग नबोल्ने, बत्ती निभाउने, बोल्न झर्को मान्ने जस्ता समस्या देखिन्छ ।

नेपालमा बिरामीको अवस्था

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा २० लाख मानिस सिजोफ्रेनियाबाट पीडित छन् । अन्य रोगको तुलनामा यसका घटना कम भए पनि सिजोफ्रेनिया  अप्रत्यासित रुपमा बढी छ ।

नेपालमा पनि यसबाट युवादेखि वृद्धसम्मलाई पिरोलेको छ । व्यक्तिले सामान्यभन्दा बढी असामान्य व्यहार गर्न थालेमा पागल बन्ने डरले पनि घरमै थुनेर राख्ने गरिन्छ, जसले पहिचान हुन नसकी अवस्था जटिल बन्न सक्छ ।

पहिचान र उपचार

विश्व स्वास्थ्य संगठनको नियमनमा रहेर तालिमप्राप्त र अनुभवी मनोचिकित्सकले बिरामीको भावना, मनोदशा, उसले दिने प्रतिक्रिया, शरीरको हाउभाउ र पारिवारिक इतिहास हेरेर मात्र सिजोफेर्निया भएको पत्ता लगाइन्छ ।

त्यसपछि औषधिको सहायताले उनीहरुको व्यवहारलाई नियन्त्रण गर्न सकिन्छ । बिरामीको प्रकृतिअनुसार औषधि चलाइन्छ । थोरै मात्र असर गरेको छ भने थोरै डोजको औषधि चलाइन्छ । गम्भीर अवस्थाका बिरामीलाई हाई डोजको औषधि पनि चलाउनुपर्ने हुन्छ । उनीहरुलाई दिने औषधि लामो समय वा आजीवन पनि खानुपर्ने अवस्था हुन्छ । पटक–पटक फलोअप गराउँदै उनीहरुको अवस्थालाई सुदृढ गर्दै लगिन्छ । औषधि उपचारसँगै उनीहरुलाई माया, प्रेम र स्नेहको पनि उत्तिकै आवश्यकता हुने हुँदा परिवारले यी पक्षमा विशेष ध्यान दिनुपर्छ ।

(मनोचिकित्सक पाण्डे ललितपुर पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित) 

मानसिक रोग सिजोफेर्निया
डा. प्रदीप पाण्डे
लेखक
डा. प्रदीप पाण्डे
नसा तथा मानसिक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८२२२ एमबीबीएस, एमडी (कन्सल्टेन्ट मनोचिकित्सक), एमडीजीपी (गोल्ड मेडलिस्ट) हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेजका विभागीय प्रमुख र ललितपुरस्थित अल्का अस्पतालमा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय