+
+

अब ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते २०:३३

२३ चैत, काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको अभ्यास सुरु भएको छ । विगतमा प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो ।

सोही ढ्यापढ्यापे समयको अभ्यासलाई प्रतिनिधिसभा नियमावली २०७९ ले आकस्मिक समयको रुपमा नामकरण गरेको छ । साथै आकस्मिक समयमा कस्ता विषय उठाउने भन्ने पनि नियमावलीले किटान गरेको छ ।

सभामुख देवराज घिमिरेका अनुसार आकस्मिक समयमा एक सांसदलाई तीन मिनेट समय पाउनेछन् । जुन समयमा अघिल्लो प्रतिनिधिसभाको बैठक र बैठक बसेको दिनको बीचमा भएका महत्वपूर्ण घटनालाई सांसदहरुले उठाउन सक्नेछन् ।

‘गएको बैठक र त्यो दिनदेखि यो बीचमा भएका जरुरी घटनासँग सम्बन्धित केही राख्नुपर्ने विषय राख्न सक्ने गरी हामीले नियमावलीमा (आकस्मिक समय) व्यवस्था गरेका छौं । त्यसलाई ध्यानमा राखेर आफ्ना अभिव्यक्ति दिनुहुन अनुरोध गर्दछु’ संसदमा आकस्मिक समय सुरुवात गर्दै सभामुख घिमिरेले भने ।

आकस्मिक समय सुरु भएको पहिलो दिन बिहीबार तीन जना सांसदहरुले यो समयको उपयोग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले श्रमका लागि वैदेशिक रोजगारीमा गएका युवाको पीडा र विदेशका जेलमा रहेका नेपालीहरुको अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराए ।

ढकालले विदेशमा मृत्यु भएका नेपालीको शव ल्याएको बाक्साहरु फुटेको पाइएको भन्दै थपे, ‘भ्रष्टाचारको संस्थागत यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा समेत फुट्छन् ।’  गरिब चेपाङ बच्चाका लागि दिइएको दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै उनले वेथितीले सीमा नाघेको बताए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद पेम सुवालले भरतपुर अस्पतालमा उपकरण खरिद गर्दा अनियमितता भएको बताए । माफिया र बिचौलिया राजनीति र प्रशासन दुवैतिर फैलाएकाले मुलुक कुशासनमा फस्दै गएको उनको भनाइ छ ।

संसदमा प्रमुख प्रतिपक्षी दल कुन हो भन्ने यकिन नभएको पनि सांसद सुवालले बताए । कार्य व्यवस्था परामर्श समिति र संसदीय समितिमा सत्तामा रहेका दलहरुले भागवण्डा गरेको भन्दै उनले विरोध गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुरक्षाकर्मीले पेन्सन हुने अवधि २० वर्षबाट १६ वर्षमा झार्न माग गरेको र यसको कारण कतार र अरब गएर सुरक्षा गार्डको रुपमा काम गर्ने  चाहना देखिएको बताए।‘…सुरक्षाकर्मी आफैं सुरक्षित छैन त यो मुलुक कसरी सुरसक्षत छ ?’ उनको प्रश्न छ ।

सांसद शाहीले पछिल्लो समय निरन्तर विदेश जानेको संख्या बढिरहेको, विदेशबाट ऋण ल्याइरहने र नेपालमा बेरोजगारी बढिरहने अवस्था रहेको भन्दै राष्ट्रको ढुकुटीको एक एक हिसाब वर्तमान र पूर्वप्रधानमन्त्रीहरुले दिनुपर्ने माग राखे ।

आकस्मिक समयमा उठाइएका विषयमाथि पनि प्रतिनिधिसभामा प्रश्न उठेको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखलाई सोधे, ‘माननीयहरुले अहिले राखेको विषयवस्तु के आकस्मिक समयसँग सम्बन्धित छ ?’

पाण्डेले अगाडि भने, ‘नियमावली आजै सुरुवात गर्दैछौं । आजै सुरु गरेको विषयवस्तु (पहिलो दिन सांसदहरुबाट आकस्मिक समयमा व्यक्त भएको विषयवस्तु) नियमावलीसम्मत छैन।’

आकस्मिक समय सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १५ मा छ । जहाँ भनिएको छ, ‘अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकको बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?