
२४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक जङ्गी अड्डा पुगेका उनले नेपाली सेनाको स्वागत र सेनाबारे औपचारिक जानकारी लिएका छन् ।
जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिबारे जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाली सेना सधै नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था भएको भन्दै प्रशंसा गरेका थिए । उनले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार गर्न जरुरी रहेको पनि बताए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले वर्षौदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरुमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान नागरिकको उद्धारमा खटिएको भन्दै प्रशंसा गरे ।
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितिहरुमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारी वहन गर्न सदैव तत्पर रहेको बताए ।
उनले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरु र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया 4