२४ चैत, काठमाडौं । विश्वकै चर्चित र धेरैले हेर्ने क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण भारतमा जारी छ ।
कोरोना महामारीपछि पहिलो पटक वास्तविक होम एण्ड अवे फम्र्याटमा भइरहेको आईपीएलमा १० फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस पटक आईपीएलमा टिमले टस पछि प्लेअइङ लिस्ट बुझाउन पाउने र इम्प्याक्ट प्लेयरको प्रयोगदेखि विभिन्न नयाँ नियम लागू गरिएका छन् । जसले प्रतियोगिताको रोमाञ्चकता थपिएको छ ।
दोस्रो चरणको खेल सकिनुअघि नै आईपीएलमा धेरै रोमाञ्चक प्रतिस्पर्धा र नतिजा देखिएका छन् ।
आईपीएलमा टिमको नेतृत्व गर्ने खेलाडीको प्रसंग पनि उत्तिकै रोचक छ । १० टिममध्ये सात वटामा भारतीय खेलाडी नै कप्तान छन् ।
ती बाहेक अष्ट्रेलियाका डेभिड वार्नरले दिल्ली क्यापिटल्स तथा दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले रोएल च्यालेन्जर्स बैंगलोर र अइडन मारक्रमले सनराइजर्स हैदरवादको कप्तानी गरेका छन् । मारक्रमको अनुपस्थितिमा पहिलो खेल भारतका भुवनेश्वर कुमारले कप्तानी पाएका थिए ।
४१ वर्षका धोनी
आईपीएलमा सबैभन्दा पाका खेलाडी र कप्तान हुन् महेन्द्र सिंह धोनी । उनले सन् २००८ देखि चेन्नई सुपर किंग्सको कप्तानी गर्दै आएका छन् ।
२०१६ र २०१७ मा म्याच फिक्सिङका कारण चेन्नई र राजस्थान रोयल्स प्रतिबन्धमा पर्दा भने धोनीले राइजिङ पुने सुपर जायन्ट्सबाट खेल्दै कप्तानी गरेका थिए ।
गत सिजन धोनीको स्थानमा चेन्नईले रवीन्द्र जडेजालाई नयाँ कप्तान बनाएको थियो । तर,खराब सुरुवात भएपछि जडेजाले कप्तानी छाडे भने धोनी पुनः कप्तान बने ।
धोनी ४१ वर्षका भए । यस उमेरमा पनि धोनीले चेन्नईको विकेटकिपिङ सम्हालिरहेका छन् भने ब्याटिङमा अवसर पाउँदा छक्का, चौका प्रहार गरिरहेका छन् ।
२८ वर्षका सामसन र नयाँ कप्तान मारक्रम
यस सिजन आईपीएलका सबैभन्दा कान्छा कप्तान हुन्, राजस्थान रोयल्सका सन्जु सामसन । उनी २८ वर्षका भए । यस्तै सनराइजर्स हैदरावादका नयाँ कप्तान नियुक्त भएका अइडन मारक्रम पनि २८ वर्ष नै भए । तर, सामसन १ महिनाले कान्छा छन् ।
यस्तै अर्का नयाँ कप्तान हुन्, नितिश राणा । कोलकाताका यी कप्तान २९ वर्षका भए । गत वर्ष डेब्यू सिजनमै गुजरात टाइटन्सलाई आईपीएलको उपाधि जिताएका कप्तान हार्दिक पाण्ड्या पनि २९ वर्ष नै भए । तर, हार्दिक भन्दा नितिश दुई महिना कान्छा छन् ।
यस सिजन हार्दिकको कप्तानीमा गुजरातले लगातार दुई खेल जित्दै उपाधि रक्षा अभियानमा उत्कृष्ट सुरुवात गरिसकेको छ ।
गत सिजन नै आईपीएलमा डेब्यू गरेको अर्को टोली लखनऊ सुपर जायन्ट्सका कप्तान केएल राहुल ३० वर्षका भए । यस सिजन कप्तानी गर्ने १० मध्ये ५ कप्तान ३० वा त्योभन्दा कम उमेरका छन् ।
३५ देखि ४० वर्ष उमेरका चार जना
मुम्बई इण्डियन्स आईपीएलको सबैभन्दा सफल टोली हो । उसले सर्वाधिक ५ पटक उपाधि जितेको छ । पाँचै पटक उपाधि जित्दा रोहित शर्मा कप्तान थिए ।
यो सिजन पनि मुम्बईको कप्तानी गरिरहेका रोहित ३५ वर्षका छन् । उनी भारतको राष्ट्रिय क्रिकेट टिमका पनि कप्तान हुन् ।
यस्तै दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नर ३७ वर्षका भए । नियमित कप्तान ऋषव पन्त चोटका कारण जारी सिजन आईपीएल खेल्न नसक्ने भएपछि वार्नर कप्तान बनेका हुन् ।
यस सिजन नयाँ कप्तान बनेका अर्का खेलाडी हुन्– शिखर धवन । पञ्जाव किंग्सका यी कप्तान ३७ वर्षका भए ।
रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान फाप डु प्लेसिस ३८ वर्षका भए । तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेपछि विराट कोहलीले गत सिजनअघि बैंगलोरको कप्तानी छाडेका थिए । त्यसपछि डु प्लेसिस कप्तान बनेका हुन् ।
प्रतिक्रिया 4