
२५ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् ।
पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी संघको साधारण सभा उदघाटन गर्दै उनले आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी निर्यात गर्नसके व्यापार घाटा कम हुने र यातायात व्यवसायीले पनि काम पनि पाउने औंल्याए ।
‘मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी नबेचे के बेचेर आम्दानी गर्ने त ?’, मुख्यमन्त्री गिरीले प्रश्न गरे ।
एमालेका नेता बिष्णु पौडेल अर्थमन्त्री हुँदा सिद्धबाबाको ढुंगे पहाड काटेर ढुंगा गिट्टी बेच्ने र सिद्धबाबालाई सुन्दर पर्यटकीय थलो बनाउने प्रस्ताव गर्दा आलोचना भएको थियो । त्यो प्रशंग निकालेर उनले भने वातावरणको नाममा अनावश्यक हौवा पिटेर योजना तुहाइयो आरोप लगाए ।
नेपालका नदीजन्य र वनजन्य पदार्थको वैज्ञानिक ब्यबस्थापन हुन नसक्दा बर्सेनि अरबौ रुपैयाँँको सामान विदेशबाट आयात गर्नुपर्दा नेपाली व्यवसायी धराशायी हुने अवस्था आएको र ब्यापार घाटा चुलिएको मुख्यमन्त्री गिरीले औंल्याए ।
त्यस अवसरमा ढुवानी व्यवसायीहरुले भारतीय ट्रकहरुको ओभरलोड नियन्त्रण गर्न नसक्दा नेपाली व्यवसायी मारमा परेका र नेपालका सडक तथा पुलहरु भत्किने र क्षति हुने गरेको गुनासो गरे ।
प्रतिक्रिया 4