
२६ चैत, काठमाडौं । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम अप्रिल १५ मा मोरिसभिलको चर्च स्ट्रीट पार्कमा आयोजना हुनेछ ।
आयोजकका अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सुरु हुने छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिव डा. विकास शाक्यका अनुसार कार्यक्रममा नेपाली मुलका र नेपाललाई माया गर्ने समुदायका गरी झन्डै एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ। सांस्कृतिक झाँकी पश्चात् नयाँ वर्षको शुभकामना आदानप्रदान र नेपाली परम्परागत नृत्य र गीत सहितका रमाइलो सांस्कृतिक कार्यक्रम दिनैभरि चल्नेछ।
साथमा नेपाली खाद्य परिकार र नेपाली कला झल्काउने स्टलहरू तथा स्थानीय संस्था र व्यवसायीका स्टलहरु पनि कार्यक्रममा राखिने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको विशेष अतिथि स्टेट सेक्रेटरी इलेन मार्शलले र्यालीको उद्घाटन गर्नेछन् ।
टाउन अफ मोरिसभिल र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको छ । संस्थाका अध्यक्ष आरपी पौडेल प्रवासमा स्थानीय सरकारको मान्यतासहित यसरी नेपाल दिवस मनाउनु आफैंमा गर्वको कुरा भएको बताउँछन् । यस्ता कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
नेपाल दिवस कार्यक्रममा आफ्नो पहिचान झल्किने भेषभुषासहित सहभागी भई प्रवासमा नेपाली पहिचानलाई अझ उच्च पार्नको लागि आयोजक संस्थाले सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
प्रतिक्रिया 4