
काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने कथावस्तुमा बनेको फिल्मको टिजरमा शीर्ष कलाकार अटाएका छन् ।
टिजरमा शीर्ष पात्रको जन्म, बाल्यकाल र युवावस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुसी मनाउँदै भजनकीर्तन गरिएको दृश्य टिजरमा प्रस्तुत छ । बाल्यकालको प्रेम र युवावस्थाको आक्रोशलाई पनि टिजरमा देख्न सकिन्छ ।
सविन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशिल पोखरेल लगायतको अभिनय छ ।
निर्देशक अधिकारीले फिल्मले समाजको चित्रण गर्ने बताए । कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्ने र सोही व्यक्तिलाई हाम्रै समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने कथावस्तु फिल्ममा चित्रण गरिएको उनले बताए ।
‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले प्रष्ट पारे । मुकुन फिल्ममा शीर्ष भूमिका देखिएका छन् । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने मुकुनको भनाइ छ ।
फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । अबिगम्यान फिल्म्सको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।
प्रतिक्रिया 4