
२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको छ ।
स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै उनले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलसँग २ करोड रुपैयाँ मागेका हुन् । आफ्नो मोबाइलमा फोन गरेर ‘मन्त्री बनेपछि सहयोगी गर्ने’ भन्दै रकम मागेको प्रसाईंको दाबी छ ।
पार्टी सभापति रवि लामिछानेले सार्वजनिक भएको अडियोबारे अनुसन्धान गरेर ७२ घन्टाभित्र प्रतिवेदन बुझाउन केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको बताएका छन् ।
बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले उठेको प्रश्नको निराकरण हुने बताउँदै ७२ घन्टाभित्र छानबिन सकिने जनाएका छन् । ‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान्, मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घन्टाभित्र छानबिन सकिन्छ ।’
रास्वपाको अनुशासन समितिले पनि सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण साधेको छ । अडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि छानबिन त सुरु भएको छ, तर यो प्रकरणले भ्रष्टाचारको विरोध गर्दै उदाएको पार्टीको प्रतिष्ठामा समेत उपचुनावको मुखमा आँच ल्याएको पार्टीका नेताहरुले बताएका छन् ।
सार्वजनिक अडियो सम्वादमा सांसद ढकालले मन्त्री बन्न रविको कोर टिमलाई पैसा बुझाउनुपर्ने बताएका छन् । उनले कसैको नाम भने लिएका छैनन् । रास्वपा सभापति लामिछानेले पनि अडियोमा आफ्ना वरपरका मान्छेले रकम मागेको भनिएको भन्दै भनेका छन्, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’
रास्वपाका एक केन्द्रीय सदस्यले चाहिँ सभापतिको ‘कोर टिम’ भनेको को को हुन् भन्ने विषयबारे पनि छानबिन हुनुपर्ने बताए । ‘आफ्ना अर्काको नभनी निर्मम छानबिन हुनुपर्छ । श्रेष्ठको मात्र होइन, कोर टिमबारे पनि अनुसन्धान हुनुपर्छ’, उनले भने ।
अनुशासन समितिले अडियो जाँच गर्ने
रास्वपाभित्र सांसद श्रेष्ठ प्रकरण छिनोफानोको जिम्मा अहिले अनुशासन समिति समक्ष आइपुगेको छ ।
रास्वपा विधानमा ११ सदस्यीय अनुशासन समितिको परिकल्पना गरिएको छ । तर, हालसम्म भरतमणि देवकोटाको नेतृत्वमा चार सदस्यीय अनुशासन कमिटी मात्र छ ।
विधानमा अनुशासन कमिटीमा हुनेले पार्टीको केन्द्रीय कमिटीमा बस्न नमिल्ने र चुनाव समेत लड्न नपाउने प्रावधान राखिएपछि समितिले पूर्णता पाउन सकेको छैन । यस्तो अवस्थामा देवकोटा नेतृत्वको चार सदस्यीयले समितिले दिएको प्रतिवेदन अनुसार पाटीले श्रेष्ठमाथि लागेको अभियोगको छिनोफानो गर्नेछ ।
अनुशासन समितिका संयोजक देवकोटा यसखाले अनुसन्धान आफ्नो लागि नयाँ अनुभव भएको बताउँदै विद्यमान कानूनको दायरमा रहेर सूचनामा पहुँच गरेर विश्लेषण गर्ने बताउँछन् । ‘त्यस्तो विषयको अनुसन्धान गर्नुपर्छ भन्ने लागेकै थिएन, सम्भव भएसम्म हेरेर प्रतिवेदन दिन्छौं’, उनले अनलाइनखबरसँग भने ।
कमिटीका अर्का एक सदस्यका अनुसार सांसद श्रेष्ठले अडियो आफ्नो नभएको दाबी गरिरहेका छन् । ‘अडियोमा सुनिएको आवाज आफ्नो नभएको उहाँको भनाइ छ’, उनले भने, ‘फोनमा कुराकानी भएको भनिएको छ, त्यतिबेला कुरा भए नभएको समेत बुझ्छौं ।’ प्रहरी वा नेपाल टेलिकमसँग समन्वय गरेर कल डिलेट रेकर्ड (सीडीआर) मा एक्सेस समेत गरिनसक्ने उनले बताए ।
पार्टी सभापति लामिछानेले पनि दोषी देखिए ७० घ(टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई संसदमा प्रवेश गराउने बताएका छन् ।
पोखरामा मेयर उठ्न चाहन्थे, समानुपातिक सांसद बने
रास्वपाका एक जना नेताका अनुसार स्थानीय निर्वाचनमा डा. श्रेष्ठले पोखरा महानगरमा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, ‘उपयुक्त फोरम’ नपाएको भन्दै पछि हटे ।
जब टेलिभिजन कार्यक्रम छाडेर रवि लामिछानेले पार्टी घोषणा गर्न थालेको उनले थाहा पाए, लामिछाने निकटहरुसँग सम्पर्क बढाए । ७ असार २०७९ सालमा पार्टी घोषणा गर्दा काठमाडौंमा डा. श्रेष्ठसँग पहिलो पटक भेट भएको रास्वपाका नेताहरु बताउँछन् ।
अर्का एक नेताका अनुसार घोषणा सभामा सहभागी भएलगत्तै उनले पार्टी कार्यालय पुगेर नेताहरुसँग भेट गर्दै पहिलो प्रदेश स्तरीय भेला गण्डकीबाट गर्न सुझाएका थिए । पोखराको डाक्टर भएको बताउँदै विभिन्न सामाजिक अभियानमा सरिक रहेकाले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन आफैंले गर्ने उनले बताएको ती नेता सम्झन्छन् ।
त्यसपछि उहाँकै संयोजनमा प्रदेशमा पहिलो भेला गण्डकीमा भएको थियो, त्यसबेला यत्तिको मान्छेले राम्रो भूमिका खेल्न सक्नुहोला भन्ने भएर प्रदेश कमिटी सभापतिको जिम्मा उहाँलाई दिइएको थियो’, ती नेता भन्छन्, ‘पछि चुनावका बेला उहाँले जनजाति क्लस्टरबाट समानुपातिकमा दाबी गर्नुभयो ।’
रास्वपामा पार्टीको मोबाइल एपमार्फत भोटिङका आधारमा उम्मेदवार चयन गर्ने व्यवस्था थियो । त्यसमा जनजातितर्फ श्रेष्ठ १ नम्बरमा आए । ‘चुनाव बेला पनि राम्रै सहयोग गर्नुभएको हो, पछि क्लस्टरबाट माननीय बन्नुभयो’, उनी भन्छन्, ‘त्यसपछि प्रदेशको जिम्मेवारीबाट अलग हुनुभयो ।’
३ माघको मन्त्रिपरिषद् विस्तार अघि रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने निर्णय गरेको थियो । त्यसबेला स्वास्थ्य मन्त्रालय पाए डा. चन्दा कार्की र तोशिमा कार्कीबीच कसलाई पठाउने भन्नेमा तीब्र लबइङ चलिरहेका बेला दुवै जनाको विकल्पका रुपमा उनले आफूलाई प्रस्तुत गराएका थिए । ‘दुई मध्ये एक छान्न सभापतिज्यूलाई अफ्ठ्यारो परिरहेका बेला उहाँले आफ्नो दाबीलाई बलियो बनाउनुभएको थियो’, रास्वपाका एक नेता भन्छन् ।
त्यहीबेला उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
सार्वजनिक अडियोमा श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’
उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २÷३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’
उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।
मन्त्रीमा दाबी गरिरहेका बेला २९ पुसमा श्रेष्ठले पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लाग्यो । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको थियो ।
श्रेष्ठ ९ कात्तिकसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थामा अध्यक्ष थिए । संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सहकारीले विशेष गरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । तर, कुखुरा खरिद बिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको भन्दै नयाँ कार्यसमितिले रास्वपाका सांसद श्रेष्ठमाथि हिनामिनाको आरोप लगाएको थियो ।
प्रतिक्रिया 4