
२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकालले ज्यापू महागुठी अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई आर्थिक सहयोग गरेको छ ।
सोमबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा आयोजित गुँला बाजा र परम्परागत ज्यापू गुठी, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि ८६ वटा संस्थालाई २/२ लाख रुपैयाँको अनुदान चेक हस्तान्तर गरेको हो ।
रकम हस्तान्तरणमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले, नदी सभ्यता र काठमाडौंबासीका परम्परागत चालचलनका बीचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउँदै नदी सभ्यतालाई छुट्याएर काठमाडौंबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुने बताए ।
उनले परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा महागुठीका अध्यक्ष पञ्चनारायण महर्जनले, महानगरपालिकाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताए । गुँला बाजा व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यका अनुसार बुद्धभूमि लुम्बिनीबाट काठमाडौं आएका शाक्यहरुसँगै गुँला बाजाको संस्कार भित्रिएको बताए ।
यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भुको यात्रा गर्छन् । सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हूः द (नेपाल संवत्) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।
प्रतिक्रिया 4