+
+

भक्तपुरको बिस्का जात्राको रथ कसले बनाउँछ ?

भैरबनाथको रथ तान्नु, ५५ हात लामो लिङ्गो (ल्योसिंद्यो) तान्नु र ढाल्नु जात्राको मुख्य आकर्षण हो । चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउने र वैशाख १ मा ढाल्ने गरिन्छ ।

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०७९ चैत २७ गते २०:१३

२७ चैत, काठमाडौं । भक्तपुरमा चैतमा विस्का जात्रा हुन्छ भनेर धेरैलाई थाहा छ । तर विस्का जात्रामा तानिने भैरब र भद्रकालीको रथ कसले बनाउँछ, कसरी बनाइन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

भैरवनाथको रथलाई भैलखः भनिन्छ । भक्तपुरको मंगलाछें थूचोका प्रेमलाल शिल्पकार (भैलनायो) को नेतृत्वमा यो रथ तयार गरिन्छ । शिल्पकारले ५१ वर्षदेखि यो काम गर्दै आएका छन् । भैलखः बनाउन चाहिने जनशक्ति उनले नै व्यवस्थापन गर्छन् ।

शिल्पकारको बाजे र बुबा पनि भैलखः बनाउन संलग्न थिए । ‘मैले ११ वर्षको उमेरदेखि भैलखः को काम गर्न सुरु गरेको थिएँ । बाजे बुवासंगै आउथेँ’ उनले सुनाए । दुई वर्षसम्म त उनले ज्याला नलिई काम गरे । तेस्रो वर्षदेखि भने दिनको ६० पैसा लिएर काम गरे । यो वर्ष भने उनको ज्याला दैनिक २५ सय रुपैयाँ छ ।

रन निर्माणमा संलग्नहरुको काम अनुसार ज्याला छ । अर्थात् अरुले काम हेरि ५ देखि १७ सयसम्म पाउँछन् । अहिले भैलखः बनाउनेहरुमा ४० कटेका व्यक्तिहरु रहेको शिल्पकारले सुनाए । ‘पुरानो काठको काम गर्नुपर्ने भएकाले यो एकदम गाह्रो काम हो’, उनले भने, ‘गाह्रो भए पनि आफूले नै गर्नुपरेको छ । अरु कोही छैन । भैलखःको सबै काम जान्ने म मात्र छु ।’

उनले आफू अशक्त भएपछि कसले भैलखः बनाउछ भन्ने चिन्ता लागेको बताए । भैलखः जो कोहीले बनाउन सक्दैन । ‘किनभने भैलखः नयाँ काठको बनाउने होइन, यो त पुराना काठलाई नै मिलाएर केही विग्रेका छन् भने मात्र थपेर बनाउने हो’ शिल्पकारले भने । उनले अहिले भैलखःमा ६५ वर्ष पुरानो काठ पनि प्रयोग भइरहेको सुनाए ।

यो वर्ष २ फागुनदेखि भैलखः निर्माण सुरु भएको थियो । यो वर्ष भने शिल्पकारका छोरा पनि रथ निर्माणमा सहभागी छन् ।

भैलखः बनाउने काममा निरन्तर करिब ३१ वर्षदेखि निरन्तर बनाउँदै आएका लालबहादुर तमखु पनि एक हुन् । अहिले उनी ७५ वर्ष भइसकेका छन् ।

उनको पुख्र्यौली पेशा कृषि हो । उनले आवश्यक काठहरु ओसारपसार गरिदिने, काम गर्नेहरुलाई सामान मिलाउन सहयोग गर्ने र काम सकेपछि सबै समान मिलाएर स्टोरमा राख्ने काम गर्ने गरेको उनी सुनाउँछन् ।

१० महिना खेतको काममा व्यस्त हुने र दुई महिना भैलखः बनाउन लाग्ने उनी सुनाउँछन् । लालबहादुर भन्छन्, ‘मलाई यो काम गर्न एकदम खुसी र गर्व लाग्छ । देवताको काम गर्न पाउँदा ।’

आशबहादुर लाखे भिसिंद्योले करिब ४ वर्षदेखि भैलखः बनाउने काममा निरन्तरता दिइरहेको बताए । पुराना काठमा काम गर्नुपर्ने भएकाले गाह्रो भएको उनी बताउँछन् । तर भैलखः बनाउने आफू संलग्न हुन पाउँदा खुसी व्यक्त गरे ।

भैलखः बनाउन शिल्पकार, चित्रकार, नकर्मी, मानन्धरको संयुक्त टोली रहने गर्दछ । यसमा उनीहरुको छुट्टाछुट्टै जिम्मेवारी हुन्छ ।

शिल्पकारले भैलखः बनाउने, चित्रकारले त्यसमा गर्ने, नकर्मीले भैलखः को छठको काम र मान्नधरले अन्तिम दिन भैलखःमा डोरी बाँध्ने काम गर्छन् ।

कहाँ बनाइन्छ भैलखः ?

भैरवनाथको रथ भक्तपुरको टौमढी टोलस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिरको छेउमा निर्माण गरिन्छ । यो रथ करिब ३० फिट अग्लो ३ तले प्यागोडा शैलीको हुन्छ । यसका ४ वटा पाङ्ग्रा करिब १० फिट अग्ला हुन्छन् ।

कहिलेदेखि सुरु हुन्छ ?

विस्का जात्रा नयाँवर्ष को ४ दिन अगाडि र ४ दिन पछाडि गरेर आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तान्नेर गरिन्छ ।

यो वर्ष रथ भैलखः २७ चैतमा तानिन्छ । चैत महिना ३० गतेसम्म छ भने २७ गते र ३१ गतेसम्मको छ भने २८ गते रथ तान्ने चलन छ ।

जात्राको पहिलो दिनलाई द्यो क्वबिज्याइगु भन्निछ । जसको नेपाली अर्थ देउता तल सवारी हुने हो । भक्तपुर नगरको बीच भागमा रहेको टौमढी ङातापोल्हँ (पाँचतल्ले) मन्दिर अगाडि बनाइएको रथलाई तल्लो भागतिर लाने भएकाले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिन्छ ।

यो दिन रथमा तलपट्टिको साइतमा ६ वटा डोरी राखिएका हुन्छन् र माथिल्लो साइतमा ४ ओटा मात्र डोरी राखिन्छ । यही डोरीको सहायताले स्थानीयले रथ तान्ने परम्परा छ ।

पहिलो दिन रथलाई तल पट्टि लानुपर्ने भएकाले पहिलो दिन पूर्व साइतमा बढी डोरी राखिएको हो । तर रथको सन्तुलन मिलाउनुपर्ने भएकाले अगाडि र पछाडि दुबैतर्फ डोरी राखिएको हो ।

के-के प्रयोग हुन्छ रथ बनाउदा ?

भैरवनाथको रथ तीन तलाको हुन्छ । यसमा सबै काठमात्र प्रयोग हुन्छ ।

‘बिस्का जात्रामा तान्ने रथमा कुनै पनि धातु प्रयोग हुदैन’, भक्तपुरका रामेश्वर गाइजूले भने ।

 किन बिग्रन्छ ?

सिकर्मी प्रेम शिल्पकार जात्रालुहरु भैरवनाथको रथमा बस्दा यो रथ चाँडै्र बिग्रने गरेको बताउँछन् ।

रथमा ३ जना पुजारी, दुई जना अगाडिको देउतासंगै, दुई जना पछाडिको देउतासँगै दूई-दुई जना भैरवनाथको रथको पांग्रालाई धकेल्न बस्ने चलन छ । तर अहिले युवाहरु धेरै उश्रृंखल भएर भैरवको रथमा बस्ने गरेको उनले बताए ।

कति दिन चल्छ जात्रा ?

विस्का जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । यो जात्रा हेर्न भक्तपुर, काठमाडौं काभे्रदेखि जात्रालु आउँछन् ।

भैरबनाथको रथ तान्नु, ५५ हात लामो लिङ्गो (ल्योसिंद्यो) तान्नु र ढाल्नु जात्राको मुख्य आकर्षण हो । चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउने र वैशाख १ मा ढाल्ने गरिन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?