
२८ चैत, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुन मसान्त)सम्म शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष वस्तु आयातमा उल्लेख कमी आएको छ । रेमिट्यान्स र पर्यटन आय सुधार भएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६० अर्ब ७२ करोडले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.३ प्रतिशतले घटेर ५ अर्ब ५८ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रहेको थियो ।
प्रतिक्रिया 4