
२८ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा योग्यताक्रम (मेरिट) को आधारमा भर्ना गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको यो कदम सर्वोच्च अदालतको आदेश विपरीत हुने पनि दाबी गरेका छन् । उनीहरुले मिहिनेत र मेरिटको सम्मान गर्नुपर्ने, सर्वोच्च अदालतको फैसला मान्नुपर्ने लगायतका नारा लेखेको प्लेकार्ड बोकेका छन् ।
आयोगले गत पुष २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरेको विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको पुस ४ गते र ६ गते नतिजा सार्वजनिक गरेको थियो ।
नतिजाको योग्यताक्रममा रही आयोगले पुस ७ गते र फागुन १२ गते प्रकाशित सूचनाबमोजिम अनलाइन प्राथमिकता निर्धारण गरेका स्नातकोत्तर तहका उम्मेदवारहरुको पहिलो चरणको भर्ना पश्चात रिक्त भएका सिटहरुमा दोस्रो चरणको म्याचिङ गरी भर्नाका लागि आइतबार भर्ना तालिका प्रकाशित गरेको छ ।
आयोगले भने जोखिम मोलेर योग्यताक्रमको तल पर्नेले रिक्त भएको अगाडिको योग्यताक्रममा भर्ना हुन पाउने नियमानुसार भर्ना गराउँदा विरोध हुनु उचित नभएको बताए ।
आयोगका सदस्य सचिव डा.भोजराज काफ्ले भन्छन् ‘पहिलो चरणको भर्ना सूचनामा योग्यताक्रमका अन्तिमतिर परेका विद्यार्थीले जोखिम मोलेर योग्यताक्रममा भर्ना लिएनन् । अगाडिको योग्यताक्रमकाले भर्ना लिएको शैक्षिक कार्यक्रममा उनको त्यो अवसर गुम्यो तर कुनै शैक्षिक कार्यक्रममा अगाडिको व्यक्तिले भर्ना नगर्दा दोस्रो चरणमा स्वतः उनले भर्ना गर्न पाउने भए । त्यसरी भर्ना भएकाको कारण विरोध भएको हो ।’
आयोगले नियमानुसार भर्ना प्रक्रिया अगाडि बढाएको उनले बताए ।
तस्वीरहरु : आर्यन धिमाल
प्रतिक्रिया 4