+
+

पूर्वी क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १८:३९

२८ चैत, विराटनगर । नेपाल विद्युत प्राधिकरणले पूर्व क्षेत्रका उद्योगमा अघोषित लोडसेडिङ गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । बिहान र बेलुका सुनसरी मोरङ औद्योगिक करिडोरमा बत्ती नै नआउने उनीहरुको भनाइ छ ।

‘हरेक दिन बिहान ६ देखि १० र बेलुका ५ देखि १० बजेसम्म विजुली कटौती हुन्छ, त्यस बाहेक अरुबेला पनि लाइन जान्छ,’ स्वस्तिक रोलिङ मिलका सञ्चालक रमेश राठीले भने, ‘प्राधिकरणले सेड्युल दिँदैन, पावर पनि चाहिने भन्दा थोरै आउछ ।’

अघोषित सेड्युल बाहेक पनि छिन छिनमा विजुली कटौती हुँदा उद्योेग चलाउन गाह्रो भएको उनले बताए । ‘हाम्रो फलाम उद्योग हो, काम सुरु गरेको बेला लाइन गयो भने भट्टी जाम हुन्छ,’ उनले भने, ‘अहिले ३० प्रतिशत उत्पादन पनि गर्न गाह्रो छ ।’

मंसिरदेखि नै अघोषित लोडसेडिङ भइरहेको उद्योगी भीम घिमिरेले बताए । ‘अहिले दैनिक ५–६ घण्टा भन्दा बढी विजुली जान्छ, तर सेड्युल छैन,’ नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका घिमिरेले भने ।

प्राधिकरणले लोडसेडिङको सेड्युल नदिएका कारण समस्या भएको उनले बताए । ‘सेड्युल दिए त्यहीँ अनुसार कच्चा पदार्थ र कामदारको म्यानेजमेन्ट गर्छाैं,’ उनले भने, ‘तर विद्युत प्राधिकरणको सेड्युल दिँदैन ।’ विद्युत कटौतीको विरोधमा सडकमा उत्रनुपर्ने अवस्था आएको उनले बताए ।

अर्का उद्योगी सयुस प्याकुरेल लोडसेडिङले उत्पादनमा कटौती गर्नु परेको बताउँछन् । ‘बजारको माग कम छ, विद्युतका कारण उत्पादन पनि घट्यो,’ उद्योग संगठन मोरङको अध्यक्ष समेत रहेका प्याकुरेलले भने, ‘विद्युत कटौतीको सेड्युल छैन ।’

नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीडका प्रमुख रोशन खड्का औद्योगिक एरियामा बिहान बेलुका लोड ( लोडसेडिङ) रहेको बताए । पिक आवरमा विद्युतको माग बढेका कारण औद्योगिक एरियामा कटौती गरिएको उनको भनाइ छ ।

सेड्युल नभए पनि बिहान बेलुका केहिबेर बिजुली काटिने उनले स्वीकारे । ‘पिक आवरमा १९० देखि २०० मेगावाट विद्युत आवश्यक छ,’ उनले भने, ‘लोड पनि बढेको छ ।’

समस्या समाधानका लागि कुसाहा कटैया प्रसारणलाइनबाट थप विद्युत आयत गर्ने तयारी भइरहेको उनले बताए । यो प्रसारण लाइनबाट विद्युत आयात भए माग धान्न सहज हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?