+
+

जनकपुर आइपुग्यो हरवा–चरवा अधिकार यात्रा, मुख्यमन्त्री भेट्न पाएनन्

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ चैत २८ गते २१:१०

२८ चैत, जनकपुरधाम । हरवा चरवाको अधिकार यात्रा जुलुस मंगलबार दिउँसो जनकपुरधाम प्रवेश आइपुगेको छ । मधेशका विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएका उनीहरु प्रदर्शन गर्दै कलबार कुट्टी पुगे ।

त्यही जुलुसमा थिए शोभित राम । सानैदेखि हरवा चरवाको काम गर्दै शोभित ५७ वर्षको भए । अझै हरवा चरवाकै जीवनयात्रा जारी छ उनको । सप्तरीको सुरुंगा नगरपालिका–४ रामटोलका शोभित हरवा चरवाको मुक्तिको आन्दोलनमा सहभागी हुँदै आएका छन् ।

‘सरकारले सीप, शिक्षा, आरक्षण दिएर सरकारले रोजगारको व्यवस्थ गर्नुपर्यो । ऐलानी तथा सुकुम्बासी हरवा चरवाले जग्गा पाउनुपर्छ । उचित ज्याला र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ हामीले’, उनले भने, ‘दलित विपन्न हरवा चरवामाथि भइरहेको शोषण दमन बन्द हुनुपर्छ ।’

शोभित २७ वर्षदेखि छिमेक टोलका गिरहत (धनी) मखन यादवको घरमा हलोकोदालो चलाउने काम गर्दै आएका छन् । उनको परिवारका सदस्य पनि प्रायःजसो काम गिरहत मखनकै घरमा गर्छन् । मखनले आफूलाई समस्या परेको बेला अनाज तथा ऋण सहयोग गर्ने गरेको कारण वर्षौदेखि उनकोमा बालबच्चादेखि घरपरिवार काम गर्दै आएको शोभित सनाउँछन् ।

‘विवाह सादी, दबाई दारु, घरपरिवारको समस्या टाल्न ऋण अनाज सहयोग लिने गरेका छौं । म आफूंसहित बालबच्चा परेको बेला उहाँकैमा मजदुरी गर्छौ’, उनले भने ।

चार छोरीको विहे उनले मखनकैमा मजदुरी गरेर गरे । अहिले एक छोरा बुहारी नातिनातिना गरी आठजनाको परिवार मजदुरीबाटै चल्छ उनको छ । मखन बाहेकमा पनि ज्याला मजदुरी गर्दा सुरुमा पाँच किलो धान पाउँथे । संघर्ष गर्दा पछिल्लो समय दश किलो धान वा चार किलो चामल पाउने गरेको शोभित बताउँछन् । तर हरवा चरवाले दिनभर काम गरेवापत पाउने ज्यालामा उनको चित्त बुझेको छैन ।

टन्टलापुर घाममा १० महिने काखे बच्चा च्यापेर आन्दोलनमा सहभागी भएकी छिन् इन्दिरा माझी । जुलुस हलमा प्रवेश गरेर कोणसभामा परिणत हुँदा निकै उनी तिर्खाएकी थिइन् । कल्वार कुट्टीकै परिस छेउमा बोटलबाट घटघट पानी खाइरहेकी उनको ३ वर्षे छोरा भने घरमै थियो । सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ मुसहर टोलकी उनी उचित ज्याला पाउनुपर्ने र विभेद अन्त हुनुपर्ने बताउँछिन् ।

इन्दिराका श्रीमान् सत्रोहन माझी भारतमा पल्दारको काम गर्छन् । ‘हामीहरु धेरैको घर ऐलानीमा छ । जग्गा दिएर घर बनाइदिनुपर्‍यो । कथित उपल्ला जातले थिचोमिचो गर्छन्, काम गरेको ज्याला पाउनुपर्छ भनेर हामी यहाँ आएका हौं’, उनले भनिन् ।

सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ का ४५ वर्षीय श्रीप्रसाद सदाले फागुन २०७८ मा घर व्यवहार चलाउन छिमेकी नन्दकिशोरसँग ४० हजार रुपैयाँ ऋण लिएका थिए । श्रीप्रसादका अनुसार तीन गुणाको कपाली तमसुक बनाए साहुले । त्यसको तीन महिना पश्चात साहुले ऋण व्याजसहित चुक्ता गर्न ताकेता गर्न थाले । नदिएपछि आफ्नोमा त्यसबेलादेखि बिना ज्याला काम लगाउने गरेको श्रीप्रसादको गुनासो छ ।

‘त्यो ऋण तिर्न समयमा सकिनँ । ताकेता गर्छन् । नभए काम गराउँछन् । तर ज्याला दिँदैनन् । म र मेरो परिवारका सदस्यले नन्दकिशोरमै बिना ज्याला काम गर्नुपर्छ’ श्रीप्रसादले सुनाए । झण्डै सयदिन भन्दा बढी काम गराएको ज्याला नदिएको उनको गुनासो छ ।

हरवा चरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकारसहित नाराका साथ सयौं हरवा चरवा मंगलबार दिउँसो जनकपुरधाम आएका हुन् । २५ चैतदेखि पर्सा र सप्तरीबाट एकैसाथ सुरु भएको हरवाचरवाको अधिकार यात्रा ६ बुँदे मागसहित मंगलबार जनकपुरधाम आइपुगेको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन २ गते नेपालमा हरवाचरवा प्रथा मुक्त भएको घोषणा गरेपनि व्यवहारमा भने अझै कार्यान्वयन भएको छैन । कागजमै सीमित भएपछि बाध्य भएर संघर्षमा उत्रिनुपरेको राष्ट्रिय हरवा चरवा अधिकार मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए ।

सरकारले हरवा चरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनर्स्थापनाका लागि लगत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनस्र्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो । यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन सकेको छैन ।

‘खाना र औषधि उपचारका लागि हामी साहुको गैरकानुनी सर्त मान्न बाध्य छौं । तर, केन्द्रदेखि मधेश सरकार हाम्रो पुनर्स्थापनाको सवालमा मौन छ । देशमा संघीयता, लोकतन्त्र, समावेशीकरण र गणतन्त्र आइसक्दा पनि आफूहरुको जीवनमा यसले छुन सकेको छैन’, अध्यक्ष मण्डलले भने ।

मधेश प्रदेशका ८ जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अझै हरवा चरवा प्रथा कायम रहेको उनको भनाइ छ ।

अधिकार यात्राका क्रममा करिब १० हजार बढी हरवा चरवा र शुभचिन्तकमा पुगेर संकलन गरिएको माग र बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिबद्धता समेटेर तयार गरेको ज्ञापनपत्र मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाउने तयारी थियो । तर मुख्यमन्त्री यादव १० वैशाखमा उपनिर्वाचन हुने क्षेत्र बारा–२ मा छन्, जहाँबाट उनका पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफूहरुलाई प्रवेश गर्न नदिएको उनीहरुको गुनासो छ ।

यी हुन् हरवा चरवाका मागहरु

१. हरवाचरवाको पुनर्स्थापनाका लागि बिस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित मन्त्रिपरिषदबाट अविलम्ब पारित गरी हरवा चरवालाई जीविकाको लागि कम्तीमा १० कट्ठा जमिन प्रदान गरियोस् ।

२. वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीन हरवाचरवालाई ३ महिना, ६ महिना र सोभन्दा लामो दीर्घकालीन प्रकारको सीपको तालिम, १ लाख रुपैयाँको बीउ पुँजी र आवश्यक औजार प्रदान गरियोस् ।

३. नेपालमा हरवा चरवाभन्दा गरिब र भूमिहीन अरू कोही नभएकाले सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, स्वास्थ्य चौकी र सिँचाइ जस्ता न्यूनतम भौतिक पूर्वाधारसहित एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम सर्वप्रथम हरवा चरवाको बस्तीमा अबिलम्व थालियोस् ।

४. हरवा चरवाको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरू सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहलाई समन्वयात्मक ढंगले समस्याको हल गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेटमा ल्याइयोस् ।

५. जमिन तथा बसाइको प्रमाण नभएका कारण आधाभन्दा बढी हरवा चरवाहरू नागरिकताबाट बञ्चित छन् । नागरिकता नभएकै कारण उनीहरू राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरहरूबाट बञ्चित हुँदै गएका छन् । आफ्नो नाममा जमिन नहुनु, नागरिकता लगायतका परिचयपत्र नभएकै कारण आज समय क्रममा जमिनको मूल्य बढ्दै जाँदा विकासको वहानामा उनीहरूलाई विस्थापित गरिदैंछ । त्यस कार्यलाई तत्काल रोकी वैकल्पिक व्यवस्था गरियोस् ।

६. नेपालको संविधानको धारा ५१ अ (६) मा मुक्त कमैया कमलरी हरवाचरवा, हलिया भूमिहीन सुकुम्वासी पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिनसहित पुनः स्थापना गर्ने र नेपालको संविधानको धारा १८, २४, ४० को अक्षरशः कार्यान्वयन गरियोस् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?