
काठमाडौं । नेपाली संगीत क्षेत्रका लागि २०७९ साल लयमा फर्किएको वर्षको रुपमा रह्यो । कोरोना महामारीपछि स्टेज पूर्ण रुपमा लयमा फर्कियो भने रेकर्डिङ र म्युजिक भिडियो पनि उत्तिकै निर्माण भए । साथै यो वर्ष नयाँ नयाँ प्लेटफर्ममा नेपाली गीत-संगीतले उपस्थिति जनाउने मौका पनि पाए ।
दुई वर्षसम्म स्टेज कार्यक्रम ठप्प हुँदा सांगीतिक क्षेत्र स्टुडियोमा सीमित थियो । तर यो वर्ष देशको पूर्वदेखि पश्चिमसम्म आयोजना भएका मेला, महोत्सव तथा कन्सर्टहरुमा गायक-गायिकालाई भ्याइनभ्याइ भयो ।
यस वर्ष संगीतमा लोक फ्युजन भएका आधुनिक शैलीका गीतहरु निकै चले । पुस महिनाको जाडोमा गायक तथा संगीतकार तिलकसिंह पेलाले लिएर आएको ‘के लत बस्यो’ गजलले सांगीतिक क्षेत्रलाई ततायो । यो गीतले चलिरहेको शैलीलाई क्रमभंग गर्ने कोसिस गर्यो भने गजल पनि टिकटकमा चल्नेरहेछ भन्ने मानक स्थापित गर्यो ।
संगीतकार आलोकश्री यस वर्ष लोक फ्युजन भएका आधुनिक गीतहरु बढी चले पनि कालजयी गीत भने आउन नसकेको बताउँछन् । ‘हामी कसैले पनि यस वर्ष नोटेबल गीतहरु दिन सकेनौं । तिलकसिंह पेलाको ‘के लत बस्यो’लाई भने यस वर्षको कालजयी गीत भन्नुपर्छ,’ अनलाइनखबरसँग उनी भन्छन्, ‘लोक फ्युजन भएका आधुनिक शैलीका गीतहरु यस वर्ष हाबी भए ।’
गायक शिव परियार पनि उनको कुरासँग सहमत छन् । उनी भन्छन्, ‘यस वर्षको उत्तरार्द्धतिर लामो समयदेखि संगीतको साधनामा रहनुभएका तिलकसिंह पेलाले ‘के लत बस्यो’ गजल लिएर आउनुभयो । सामान्य ढंगका गीतहरु चलिरहेको बेला यो गीतलाई श्रोताले स्वागत गर्नुभयो । यो गीतलाई यस वर्षको सुन्दर गीत मान्नुपर्छ ।’
लोक फ्युजन शैलीको वर्चस्व
२०७९ सालमा सुगम संगीत, लोक तथा दोहोरी, पप, र्याप, फिल्मी सबै प्रकारका गीत सार्वजनिक भए । यद्यपि सबैभन्दा बढी रुचाइएको जनरामा लोक फ्युजन शैली रह्यो । उर्गेन दोङ र अनु चौधरीको ‘लजालु लजालु’, सन्तोष सुनारको ‘छमक छमक’, हिमाल सागर र अनु चौधरी स्वरमा रहेको ‘ए होर माया’, सुनिल गिरीको ‘जुम्ला’ सर्वाधिक रुचाइएका लोक फ्युजन शैलीका गीतमध्येमा परे ।

त्यस्तै फिल्म छक्कापञ्जा ४ को ‘दर्शन सलाम’ र ‘सिरुपाते जुँगामा’, फिल्म झिंगेदाउको ‘आगोबिना बिंडी जल्दैन’, टंक तिमिल्सिनाको स्वरमा रहेको ‘मेरी चम्पा’, शिव परियार र अस्मिता अधिकारीको ‘फूलैफूल दिन्छौ कि’, सुजन चापागाईं र शान्तिश्री परियारको स्वरमा रहेको ‘घुमी घुमी’ लगायत गीत पनि सर्वाधिक रुचाइएको सूचीमा परे ।
‘फिल्मदेखि मूलधारको संगीतसम्म नै लोकसँग सम्मिश्रण गरेर सिर्जना गरिएका आधुनिक शैलीका गीतलाई रुचाइएको पाइयो,’ संगीतकार आलोकश्री भन्छन् ।
तर गायक परियार भने श्रोता-दर्शकमाझ एउटा मात्रै जनरा हाबी भएको भन्ने कुरामा विश्वास गर्दैछन् । ‘म चाहिं कुनै जनरा हाबी भएको भन्ने मान्दिनँ । पूर्वदेखि पश्चिमसम्मका कन्सर्टमा पुग्दा रक ब्याण्ड, दोहोरी गायक-गायिका, पप गायक-गायिकाहरुसँग स्टेज सेयर गर्दा तिनै श्रोता हुनुहुन्छ, जो हरेक गीतमा उत्तिकै रमाइरहनुभएको हुन्छ,’ उनी भन्छन्, ‘यद्यपि डिजिटल माध्यममा एक प्रकारको शैली चर्चामा आयो होला ।’
यसैगरी लोकगीत अघिल्ला वर्षजस्तै यस वर्ष पनि सदावहार रुपमै रुचाइयो । लोक तथा दोहोरीगीततर्फ प्रकाश सपुत, प्रकाश दूतराज, पशुपति शर्मा, शान्तिश्री परियार, विष्णु माझी, विमल परियार, पूर्णकला बिसीलगायत गायक-गायिका चर्चामा रहे ।
प्रकाश सपुतले निशा सुनारसँग मिलेर गाएको ‘नभन विदेशी’ गीत युट्युबमा निकै रुचाइयो भने प्रकाश दूतराजले मेलिना राईसँग गाएको ‘जूनमाया’ तथा शान्तिश्री परियारसँग गाएको ‘मन भुल्छ’ निकै चर्चामा रहे । पशुपति शर्माका ‘फाटेको मन’ र ‘जन्तै जाम्ला’ पनि मन पराएका गीतमा परे ।
यी गीतले युट्युबमा राम्रो भ्युज बटुल्न सफल भए । विमल परियार र शान्तिश्रीको ‘कहाँको माया’, राजु केडी र पूर्णकला बिसीको स्वरमा रहेको ‘फूल मायामा नभुल’ गीत पनि चर्चामा रहे । हरिवंश आचार्य र शान्तिश्रीको स्वरमा रहेको ‘काउली’ गीत पनि यस वर्ष रुचाइएको गीतमा पर्यो ।
नेपाली फिल्मका गीतमा पनि यस वर्ष लोकशैलीकै गीतको दबदबा रह्यो । यस वर्षको हिट फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘दर्शन सलाम’ र ‘सिरुपाते जुँगामा’ दुवै गीत लोकशैलीका थिए । यी दुवै गीत सर्वाधिक रुचाइएका गीतमध्येमा पर्न सफल भए । यसैगरी कबड्डी ४ को ‘केशरी’, बाबरीको ‘बाबरी रंग’ चर्चामा रहे ।
‘के लत बस्यो’ : गजलको पुनरागमन
६० को दशकमा नेपाली गजल संगीत उत्कर्षमै पुगेको थियो । त्यसबेला अञ्जु पन्त र जगदीश समालको स्वरमा रहेको ‘नबिर्सें तिमीलाई’ले गजल संगीतमा एक किसिमको मानक नै खडा गरेको थियो । त्यसैताका प्रमोद खरेलको स्वरमा ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गजलले एक किसिमको ‘धमाका’ नै मच्चाएको थियो । शिव परियारको ‘कहाँ थियौ तिमी रंगमञ्च’, ‘अलिकति नजर तिम्रो’ जस्ता गजललाई पनि श्रोताले निकै रुचाएका थिए ।
तर त्यसपछि फेरि अरु जनराका गीतकै संगीत क्षेत्रमा दबदबा भयो । लोकगीत, सुगम संगीतले नै बजारमा कब्जा जमाए ।

यसैबीच २०७९ सालको पुसमा गायक तथा संगीतकार तिलकसिंह पेला एउटा यस्तो गजल लिएर आए, जसले नेपाली संगीतमा ठूलै हलचल पैदा गरिदियो । ‘के लत बस्यो मलाई’ बोलको गजलले संगीतमा चलिरहेको शैलीलाई धक्का नै दियो ।
अहिलेको टिकटक युगमा गजल अर्थात् ‘स्लो’ गीतहरु चल्दैनन् भन्ने सोचलाई यसले भत्काइदियो र यस गजलमा टिकटक बनाउनेको लहर नै आयो । यतिसम्म कि अरु गीतका स्थायीमा मात्रै टिकटक भिडियो बन्थे तर यो आठ मिनेट बढी लामो गजल गीतका हरेक शेर अर्थात् अन्तराका टिकटक बने ।
त्यसबेला अनलाइनखबरमा अन्तर्वार्ताका लागि आएका गायक तथा संगीतकार पेलाले भनेका थिए, ‘नसोचेको सफलता पाइयो, यो गजलले त मेरो दिनचर्या नै पो खलबलाइदियो त ।’ गजललाई सर्वत्र रुचाइएपछि आएका फोन, मेसेज र अन्तर्वार्ता दिन भ्याइनभ्याइ भएको जनाउ उनले दिएका थिए ।
डा. प्रदीपकुमार मैनालीको शब्द रहेको ‘के लत बस्यो’ पछि राम्रो गीत भए म्युजिक भिडियो पनि आवश्यक रहेनछ भन्ने सिद्ध भयो । यो गजलको भिडियो स्टुडियोमा खिचिएको थियो, कुनै चलेका मोडल तथा स्टार थिएनन्, न त कथानक नै ।
संगीतकार आलोकश्री ‘के लत बस्यो’लाई धेरैपछि नेपालमा आएको कालजयी गीतको रुपमा लिनुपर्ने बताउँछन् ।
सज्जनराजको पुस्ताले पुर्यायो नेपाली संगीतलाई स्पटीफाइमा

नेपाली गीत-संगीत अझै पनि युट्युबमै बढी केन्द्रित छन् । गीत हिट वा फ्लपको मापन युट्युब भ्युजलाई लिएर हुने गरेको छ । तर संसारमा अरु यस्ता प्लेटफर्म पनि छन् जसका प्रयोगकर्ता पनि करोडौंमा छन् ।
गीत खासमा सुन्ने कुरा हो र सुन्ने प्लेटफर्म स्पटीफाइमा पनि यस वर्ष नेपाली गीतहरुले चर्चा पाए । यसको श्रेय नयाँपुस्ताका चर्चित गायक सज्जनराज वैद्यलाई दिन सकिन्छ । सज्जनराजका धैर्य, हत्तेरी जस्ता गीत स्पटीफाइमा धेरै सुनिने नेपाली गीतमध्ये परे भने सबैभन्दा बढी सुनिने नेपाली गायकमा सज्जनराज पर्न सफल रहे ।
स्पटीफाइले सार्वजनिक गरेको सूचीअनुसार सन् २०२२ मा नेपालभित्र र बाहिर सबैभन्दा बढी सुनिने गायकको रुपमा सज्जनराज परे भने प्रीतम श्रेष्ठको ‘थामन हात’ गीत सर्वाधिक सुनिने नेपाली गीत बनेको थियो ।
सज्जनराजको ‘धैर्य’ गीत युट्युबमा समेत २०७९ सालमा धेरै हेरिने तेस्रो गीतमा पर्यो । यो गीतलाई हालसम्म दुई करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ । यसै वर्ष सार्वजनिक भएको उनको अर्को गीत ‘हत्तेरी’ पनि निकै रुचाइएको छ । यसैगरी स्वप्न सुमन, सुशान्त केसी, भेक, योवेश थापा, आशुतोष केसी, प्रवेश मल्लिक पनि यस वर्ष स्पटीफाइमा धेरै सुनिने गायक बने ।
स्टेज लयमा फर्किएको वर्ष
झण्डै दुई वर्ष कोरोना महामारीका कारण अन्य क्षेत्र ठप्पजस्तै रहे । सांगीतिक क्षेत्रमा पनि यसको प्रभाव पर्यो, तर तुलनात्मक रुपमा कम । गीत रेकर्ड गर्ने, युट्युबमा सार्वजनिक गर्ने क्रममा कमी आएन । अझ टिकटकजस्ता प्लेटफर्मको उदयले गीत-संगीतलाई थप फाइदा पुर्यायो, घरमै बस्नुपर्ने भएपछि युट्युबमा गीत हेर्ने-सुन्ने पनि बढे ।

तर महामारीमा स्टेज कार्यक्रम भने ठप्प रहे । देश विदेशका मेला, महोत्सव र कन्सर्टमा प्रस्तुति दिन भ्याइनभ्याइ हुने कलाकारहरु घरमै थन्किएर बस्न बाध्य भए । २०७७ सालमा पूरै ठप्प रहेको स्टेज २०७८ मा केही जुर्मरायो । तर उक्त वर्ष पनि कोरोना संक्रमणमा नयाँ नयाँ लहर आइरहँदा स्टेज प्रभावित बनिरह्यो । २०७९ साल भने स्टेज कार्यक्रमकै वर्ष बन्यो । वर्षको सुरुवातसँगै देश विदेशमा हुने कन्सर्टमा गायक-गायिकालाई भ्याइनभ्याइ भयो ।
यस वर्ष शिव परियार, प्रमोद खरेल, मेलिना राई, प्रकाश सपुत, पशुपति शर्मा, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, शान्तिश्री परियार, अनु चौधरी, प्रकाश दूतराज लगायत कलाकार स्टेजमा निक्कै व्यस्त बने । रामकृष्ण ढकाल, राजेशपायल राई, यम बराल, प्रविशा अधिकारी, मिलन नेवार पनि स्टेजमा व्यस्त बने । यसैगरी नेपथ्यलगायत देशका मुख्य सांगीतिक ब्याण्ड देशदेखि विदेशसम्मको कन्सर्टमा वर्षैभर व्यस्त रहे । र्यापरहरु भिटेन, लाउरेको पनि स्टेजमा निकै माग भयो ।
कोरोना महामारी नियन्त्रण भएर जनजीवन सामान्य बन्दा यसको प्रत्यक्ष फाइदा गायक-गायिकालाई त भयो नै, गीत-संगीत निर्माणको क्रम बढ्दा गीतकार, संगीतकार, रेकर्डिस्ट, म्युजिक भिडियो निर्माता-निर्देशकलाई पनि फाइदा पुग्यो ।
सिक्वेल मौलायो
यस वर्ष गीतको सिक्वेल बनाउने क्रम बढ्यो । यद्यपि गीतको भाव र सिलसिलाभन्दा पनि शीर्षकमा सिक्वेल राख्ने क्रमले तीव्रता पायो । १९ वर्षपछि गायक बाबु बोगटी सान्नानीको सिक्वेल ‘सान्नानी-२ : एकानी दुवानी तिनानी’ लिएर आए । उर्गेन दोङ र अस्मिता अधिकारीको स्वरमा ‘टाढा भए पनि २’ सार्वजनिक भयो । सुनिल गिरीले आफ्नो हिट गीत देउराली शीर्षकमै ‘देउराली भञ्ज्याङ’ ल्याए भने ‘धोकेवाज’को सफलतापछि गायक शिव परियारको स्वरमा ‘धोकेवाज रैछौ माया’ सार्वजनिक भयो ।
गायक परियार सिक्वेलको उद्देश्य प्रचारमा सघाउ पुगोस् भन्ने मात्रै भएको बताउँछन् । ‘सिक्वेलमा म आफैं चाहिं सामेल छैन । गीत नै राम्रो हुनुपर्यो । पहिले चलेको गीतको शीर्षकलाई सिक्वेल भनिदिंदा सायद प्रचारमा फाइदा पुग्छ भनेर गरिएको होला,’ उनी भन्छन् ।

टिकटक युग, म्युजिक भिडियो निर्माणमा गिरावट
अघिल्ला वर्षहरुमा गीत हिट हुनुको मापन युट्युब भ्युजमा गरिन्थ्यो । तर अहिले गीत कति चल्यो भन्ने कुरा कति टिकटक भिडियो बने भन्नेमा हुन थालेको छ ।
यस वर्षका लजालु मायालु, छमक छमक, के लत बस्यो जस्ता गीतका थुप्रै टिकटक भिडियो बने, जसले गीतलाई चर्चित बनाउन सहयोग पुर्यायो । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको ‘मेसो मिलाएर’ बोलको गीत अहिले टिकटकमा भाइरल छ । तर युट्युबमा भने यो गीत एक महिनाअघि नै रिलिज भएको थियो ।
‘टिकटक त अहिले गीत चल्ने मुख्य माध्यम नै बनेको छ । यसले पुराना गीतहरुलाई पनि फेरि चर्चामा ल्याइदिएको छ,’ संगीतकार आलोकश्री भन्छन्, ‘यसबाहेक रियालिटी शोले पनि गीतलाई चर्चित बनाउन सहयोग पुर्याएका छन् ।’

गायक परियार टिकटक यो समयको लागि सबैभन्दा चुस्त र दुरुस्त माध्यम भएको बताउँछन् । यसले छोटो समयमा आफ्नो प्रतिभा कसरी प्रस्तुत गर्ने ? भन्ने चुनौती थपेको छ । ‘सेकेण्ड र मिनेटमा प्रतिभा देखाउनुपर्ने भएपछि मान्छे त्यहीअनुसार तयारी गर्न बाध्य हुन्छ । किनकि अहिलेको व्यस्त समयमा यसको विकल्प पनि नहोला,’ उनी भन्छन् ।
म्युजिक भिडियो निर्देशक निकेश खड्का भने गीत टिकटक केन्द्रित हुन थालेसँगै म्युजिक भिडियो निर्माणमा कमी आएको बताउँछन् । सँगै स्टार कलाकारहरु राखेर भिडियो बनाउने प्रचलन पनि यो वर्ष कम भएको देखिन्छ ।
‘टिकटक क्लिपको आधारमा गीत चल्ने नचल्ने कुरा डिपेन्ड हुन थाल्यो । खर्च गरेर म्युजिक भिडियो बनाउने क्रम घटेको देखिन्छ,’ उनी भन्छन्, ‘अहिले स्टारभन्दा ठीकै चलेका कलाकार राखेर भिडियो बनाउनेहरु बढेका छन् ।’ गत वर्षको तुलनामा म्युजिक भिडियो निर्माण आधाले नै घटेको उनी बताउँछन् । साथै तुलनात्मक रुपमा युट्युबबाट हुने आम्दानी समेत यस वर्ष घटेको छ ।

२०७९ सालमा सांगीतिक रियालिटी शो पनि चर्चामा रहे । भ्वाइस अफ नेपाल, मेरो भ्वाइस कप, हिमालय लोक स्टारजस्ता शोहरुले नयाँ कलाकारहरु जन्माए ।
समग्रमा यस वर्ष संगीत क्षेत्र औसत रहेको संगीतकार आलोकश्री बताउँछन् । ‘यस वर्ष सांगीतिक क्षेत्रमा देखिनेगरी नयाँ गायक-गायिकाको उदय भएन, पुरानै कलाकारहरुको उपस्थिति धेरै रह्यो । नोटेबल गीत खासै आएनन्,’ उनी भन्छन् ।
गायक परियार पनि उनको कुरामा सहमति जनाउँछन्, ‘यो चाहिं गज्जब गायक-गायिका भन्ने त यो वर्ष देखिएन । तर राम्रो सिर्जना हरेक समय र प्लेटफर्ममा चल्ने रहेछ भन्ने चाहिं तिलकसिंह पेलाको गीतले पुष्टि गर्यो ।’
प्रतिक्रिया 4