
काठमाडौं । कहिलेकाहीँ सपनामा हामी झसंग हुन्छौँ । बारम्बार एउटै सपना देख्दा झन् झस्किन्छौं । बारम्बार झस्काउने सपनाबाट टाढा हुनका लागि केही काम स्वयंमले गर्नुपर्नेहुन्छ ।
जीवनको गहिरो भोगाइ सपनाका रूपमा पुनरावृत्ति भइरहने मनोविद्हरूको बुझाइ छ । ‘एउटा पात्रले बारम्बार सोच्ने सोच वा जीवनका गहिरो भोगाइ सपनाका रूपमा बारम्बार दोहोरिन्छन्,’ हावर्ड मेडिकल स्कुलमा कार्यरत मनोविद् डेर्ड बार्ट भन्छन् ।
बारम्बार दोहोरिने सपना निकटमै दोहोरिँदैनन् । कहिले महिना त कहिले वर्षको अन्तरालमा फेरि देखिने मनोविद् डेर्ड बताउँछन् । कहिलेकाहीँ दुरूस्तै किसिमको र कहिलेकाहीँ थोरै परिमार्जन भएर सपना दोहोरिने मनोविद्हरूको भनाइ छ ।
‘सपनाको पुनरावृत्ति धेरै मानिसहरूमा नहुने भएकाले यसको मुल्यांकन निकै कठिन छ,’ मनोविद् निरित सोफर भन्छन् ।
मानिसहरूलाई उनीहरूको जीवनमा विगतका सपनाबारे सोध्दा स्मरण शक्ति र अन्य कारणहरूबाट पनि प्रभावित हुने भएकाले मुल्यांकन कठिन हुने उनको तर्क छ । तर सपनाको पुनरावृत्तिबारेको अनुसन्धान अपरिहार्य रहेको चिकित्सक एलेक्स दिमित्री बताउँछन् ।
‘सपनाको पुनरावृत्तिले मानिसहरूमा त्रास सिर्जना गर्छ। तर बुझ्नुपर्ने कुरा के छ भने त्यस्ता सपनाहरूले केही सन्देश दिइरहेका हुन्छन्। त्यसको अन्तर्य पहिल्याउन सकेमा यसबाट उत्पन्न हुने डरको निराकरण हुन्छ,’ उनी भन्छन्।
सपनाको सन्देश के हुन्छ ?
पुनरावृत्ति भइरहने सपनामा सिधा सन्देश लुकेको हुन्छ । उदाहरणका लागि यदि कसैले स्कुल वा काममा बारम्बार ढिला गएको सपना देख्छ भने समयको व्यवस्थापनमा त्यो व्यक्तिको पर्याप्त तयारी कहिल्यै हुँदैन । त्यसैको तनावका कारण उसले सपना देख्ने मनोविद्हरूको तर्क छ । सपनाको व्याख्याको कुनै अकाट्य संकेत नरहेको मनोविद्हरू बताउँछन् । ‘सपनाको व्याख्याका लागि कुनै पनि अकाट्य सिद्धान्त वा संकेत छैनन् । सपनाको व्याख्या व्यक्तिको अनुभूति वा व्यक्तिगसँग सम्बन्धि विषयमा आधारित रहेर गरिन्छ,’ बार्ट भन्छन् ।
समयमा ढिला भएको सपना बारम्बार देख्नेहरूले अपर्याप्त तयारीका बाबजुद सामाजिक कठिनाइ र आफूलाई अरूको तुलनामा कमजोर ठान्ने व्यक्तिगत मनोवृत्तिका कारण पनि त्यस्ता सपनाहरू देखिने बार्ट र दिमित्रीको तर्क छ ।
स्कुलमा कम हाजिर जनाउनेहरूले परीक्षामा फेल भएको सपना देख्नसक्छन् । यो सपना आसन्न परीक्षाको त्रासका कारण देखिएको उनीहरूको तर्क छ । कसैले दाँत झरेको सपना देख्छ वा चोटपटक लागेको सपना देख्छ भने त्यसको अन्तर्यमा केही हानीको असर लुकेको छ । यस्तै निरासा असुरक्षा वा स्वास्थ्यको चिन्ताका कारणले पनि यस्ता सपना देखिने बार्ट र दिमित्रीको भनाइ छ ।
एउटै सपनाको पुनरावृत्ति भइरहँदा त्यसमा लुकेको सन्देशको खोजी गर्नुपर्ने उनीहरूको भनाइ छ । सपनामा देखेको विषय र आफ्नो परिस्थितिबारेको सम्बन्ध केलाउनुपर्ने मनोविद्हरू बताउँछन् । आफूलाई के के कारणले चिन्ता वा तनाव छ भन्ने पाँचवटा कुरा केलाएर सपनासँग तुलना गर्नुपर्ने सुझाव उनीहरूको छ । ‘अनौपचारिक रूपमा आफूले विश्वास गरेका मानिसहरूसँग पुनरावृत्ति भइरहेने सपनाबारे छलफल गर्नु उत्तम हुन्छ,’ बार्ट भन्छन् ।
पोस्ट ट्रम्याटिक डिसअर्डर भएका मानिस वा तनावमा रहने मानिसहरूलाई सपनाको पुनरावृत्ति भइरहन्छ । ‘पोस्ट ट्रम्याटिक डिसअर्डर भएका मानिसहरुलाई सपनाले बारम्बार निन्द्रा वथोल्छ। उनीहरूले यसको सन्देश नपहिल्याउँदा सोही किसिमको सपना बारम्बार देखिरहन्छन्,’दिमित्री भन्छन्।
यसको समाधान कसरी गर्ने ?
सपनाको पुनरावृत्ति कहिलेकाहीँ जैविक विषयसँग पनि सम्बन्धित हुनेगर्छ । ‘ऐँठन हुने मानिसहरू सपनामै निसासिन्छन् । आफ्नै जैविक अवस्थाका कारण उनीहरूले श्वासप्रश्वासमा अवरोध महशुस गर्छन्,’ दिमित्री भन्छन् ।
यस्ता मानिसहरूले स्वास्थ्य जाँच गर्नुपर्ने र ध्यान गर्नुपर्ने दिमित्रीको सुझाव छ । आफ्नो सपनाको सन्देश पहिल्याएपछि संज्ञात्मक व्यवहारको विधिबाट उपचार गर्नुपर्छ । आफ्नो स्वचालित विचार के हो ? स्वचालित भावना के हो ? यो पहिल्याएपछि त्यसको वैकल्पिक विचारतर्फ केन्द्रित हुनुपर्छ। यसका लागि थेरापीको समेत जरूरी रहने मनोविद्हरूको भनाइ छ ।
दोहोरिने सपनाले तनाव सिर्जना गर्ने वा वेखुशी बनाउँदा अन्य काममा समेत असर पुर्याउनसक्छ । त्यसैले यस्तो अवस्थामा मनोविद्हरूसँग परामर्श गर्नुपर्ने उनीहरूको सुझाव छ ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4