
नयाँ वर्ष एउटा बहाना पनि हो, केही त्याग्ने अनि केही प्रण गर्ने । धेरैले भनिरहेका हुन्छन्, ‘यो वर्षदेखि म आफ्नो खराब आनीबानी त्याग्नेछु । केही नयाँ थालनी गर्नेछु ।’
चालु वर्षको पात्रोको अन्तिम पातो पल्टिंदैछ र नयाँवर्षको आगमन हुँदैछ । यसै मेसोमा हामीले कलाकार विल्सनविक्रम राईलाई सोधेका थियौं, ‘नयाँवर्षमा के कस्ता संकल्प गर्नुभएको छ ?’
अहिलेका चल्तापूर्जा हास्य अभिनेता हुन् उनी । खासगरी उनलाई ‘तक्मे बुढा’को रुपमा बढी रुचाइए । यही नाम धारण गरेर उनले टेलिभिजनदेखि देश–विदेशको स्टेजसम्ममा दर्शकको मन जिते । मिजासिला विल्सनले आगामी बर्षका लागि केही प्रण गरेका छन् ।
फुर्सद मिल्नासाथ व्यायाम गर्छु
आउने वर्ष चाहिं म स्वास्थ्यलाई निकै ख्याल गर्नेछु । विद्यालयमा एउटा कक्षाबाट पास भएर नयाँ कक्षामा पुगेपछि भनिन्छ नि, अब चाहिं म राम्ररी पढ्छु । त्यस्तै हरेक नयाँवर्षमा पनि स्वास्थ्यलाई राम्रो बनाउँछु भनिरहेका हुन्छौं । तर कार्य व्यस्तताले गर्दा भनेजस्तो मेलोमेसो मिलिरहेको छैन ।
कलाकारिता गर्ने भएपछि आफ्नो सेड्युलमा चल्न नसकिने हुन्छ । उठ्ने, सुत्ने, खाने, हिंड्ने कुराको ठेगान हुँदैन । तर यसपालि चाहिं म आफ्नो लागि पनि समय छुट्याउनेछु । अनि जतिसुकै व्यस्त भए पनि थोरै फुर्सद पाउनासाथ व्यायाम गर्नेछु ।
मलाई साइक्लिङ र पैदल हिंड्न खुब मज्जा आउँछ । त्यसरी हिंड्दा गीत फुर्ने गर्छ, डायलग फुर्ने गर्छ । मनलाई मन्थन गर्न पाइन्छ ।
खानाको मात्रा घटाउँछु
लकडाउनले मलाई निकै बिगार्यो । घरमा बसेको बेला के गर्ने ? मीठोमसिनो पकाउँदै खाने बानी लाग्यो । हुँदा हुँदा धेरै खाने भइएछ । यसरी नै खानाको मात्रा जारी राख्ने हो भने त सुमो खेलाडी भइएला । आफू कलाकार परियो । फिट एण्ड फाइन हुनै पर्यो । यसका लागि खानाको मात्रा घटाउनैपर्छ । यो वर्षका लागि मेरो अर्को प्रण यही भयो ।
पोलेको मासु नखाने
पोलेको मासु भनेपछि त जिब्रोमा पानी आइहाल्छ । चिसो भनेकै कोकाकोला भनेजस्तै मीठो मासु भनेकै पोलेको मासु भन्ने जस्तै लाग्छ । तर पोलेको मासुले जिब्रोलाई खुसी बनाए पनि पेटलाई दुःखी बनाउने रहेछ । यसले स्वास्थ्यलाई हानि गर्ने भएकाले यस वर्षदेखि मेरो मेनुबाट यो परिकार सर्लक्कै हट्नेछ ।
अब पोलेको मासु नखान मैले नयाँवर्ष सुरु हुनुअघि नै धीत मर्नेगरी लगातार पोलेको मासु खाइरहेको छु ।
आफ्नै प्रोडक्सनमा नयाँ कोसेली
टेलिशृंखला खेलियो, स्टेज कार्यक्रम गरियो, हास्य शृंखला बनाइयो । अब चाहिं सिनेमा बनाउने हो । यसका लागि म जस्तोसुकै आँधीबेहरी झेल्नु तयार भएर बसेको छु । कम्मर कसेर सिनेमा बनाउँछु, त्यो पनि आफ्नै प्रोडक्सन र निर्देशनमा । सिनेमाको नाम पनि दर्ता गरिसकेको छु । नाम के हो भनेर सोध्नुहोला, त्यो कुरा चाहिं पछि नै खुलाउँछु । सबैकुरा अगाडि नै खुलस्त बनाउनु हुन्न ।
सिनेमा निर्माणसँगै समाजसेवामा पनि म केही न केही गर्छु । तर फोटो खिचाएर प्रचार गर्दिन ।
यतिका प्रण त गरियो, तर पूरा गर्न सकिएला कि नसकिएला भन्ने प्रश्न पनि आउन सक्छ । म सम्भव भएसम्म आफ्नो संकल्प पूरा गर्छु । सन् २०१४ को अंग्रेजी वर्षमा मैले पेय पदार्थ छाड्ने निधो गरेको थिएँ, कोकदेखि मादक पदार्थसम्म । चटक्कै छाडें पनि ।
यी पेय छाडे पनि कफी छाडेको थिइनँ । अब कफीलाई पनि घटाउनेछु ।
प्रतिक्रिया 4