
२९ चैत, काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन् ।
बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए।
उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् ।’
उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए ।
‘५०-६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् । बद्नाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन्,’ उनले भने, ‘त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ ।
अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए ।
उनले भने, ‘नेपालमा यस्तो हुन्न भनेर भन्न सकिन्न । सामान्य संसदीय प्रणालीको कुरा गर्ने हो भने त संसदभित्रको सबभन्दा ठूलो पार्टीले नेतृत्व गर्नुपर्ने हो । मान्दैनन् संसदीय व्यवस्था यिनीहरुले । संसदीय व्यवस्थाका भक्त देखाउँछन् । यदि ठूलो पार्टीले नसके त त्यसभन्दा तल्लो ७९ सिटवालाले गर्ने हो नि नेतृत्व त । अब यी ठूलाका लडाँइ, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ । उल्टो गंगा त यसै बगेको छ नि ‘
उनले आगामी दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए ।
प्रतिक्रिया 4