
२९ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन गैंडाका दुई केटाकेटी मृत भेटिएका छन् ।
ती केटाकेटी बाघ र भाले गैंडाको आक्रमणबाट मरेको आशंका छ ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारी अनुसार राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिएको हो ।
यस्तै माडीको बगई सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारस्थित मध्यवर्ती क्षेत्रको काँसघारीमा गैंडाको भाले बच्चा(केटो) मृत भेटिएको छ ।
अन्दाजी ६ महिनाको केटाको मृत्यु बाघको आक्रमणबाट भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
खाग नपलाएको बच्चा गैंडा मृत भेटिएको सूचना स्थानीयले निकुञ्ज कार्यालयलाई दिएका थिए ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७९/०८० मा चोरीसिकारी र कालगतीले मृत्यु हुने गैंडाको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया 4