
३० चैत, काठमाडौं । ब्यागेज ह्याण्डलिङमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई गोजीरहित पोशाक दिन थालिएको छ ।
नेपाल वायुसेवा निगमले बिहीबार यसबारे जानकारी गराएको हो । यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल एयरलाइन्सले ब्यागेज ह्याण्डलिङ सेवा सुधारमा यस्तो कदम चालिएको बताएको छ ।
निगमका अनुसार अब एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको छ । निगमका अनुसार अब ब्यागेज ओसार–पसार गर्ने ट्रलीमा बार र चेन लगाइएको छ ।
वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना लगाइएको समेत निगमले जनाएको छ । अब ब्यागेजको सुरक्षामा छुट्टै कर्मचारी समेत खटाउन थालिएको छ ।
ब्यागेज सम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलस्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा क्रियाशील गराइएको छ । यसका साथै सीसीटीभी र सुरक्षाको निगरानी समेत चुस्त बनाइएको छ ।
सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाइएको भन्दै निगमले यस्ता घटना भएमा अन्तर्राष्ट्रिय नियमानुसार उचित क्षतिपूर्ति दिने समेत निगमको प्रतिबद्धता छ ।
प्रतिक्रिया 4