
कपाल नहुनेहरुका लागि सजिलो, छरितो र सस्तो विकल्प हो, हेयर विग । यसलाई टाउकोमा टोपी जसरी लगाउन मिल्छ । नेपाली बजारमा अहिले थरीथरीका हेयर विग छन् । मूल्य र गुणस्तरको हिसाबले यसमा विविधता पाइन्छ ।
खासमा हेयर विग सामान्यतया मानव कपाल र सेन्थेटिक कपालबाट बनेका हुन्छन् ।
डिजाइन कस्ता कस्ता ?
विग महिलाको लागि लामो, छोटो, कर्ली, सिधा र विभिन्न कलरमा पाइन्छ । पुरुषको लागि पनि छोटो, लामो विभिन्न डिजाइनमा पाइन्छ । विगहरु विभिन्न डिजाइन तथा साइजमा पाइने भएकाले आफ्नो रुचि तथा साइज अनुसार मिलाएर लिन सकिन्छ ।
विग सबैको टाउकोमा सुहाउँछ ?
अहिले धेरै व्यक्तिले विगको प्रयोग सबटाइटलको लागि गर्छन् । कतिपयले भने कपाल झरेको कारणले नै विगको प्रयोग गरेका हुन्छन् । यो प्रायः सबैको टाउकोमा सुहाउँछ । कुनै विग धेरै कसिलो हुन्छ भन्ने गुनासो कहिले कहिलेकाहीं सुनिन्छ । तर सबैको टाउकोमा मिलाउन मिल्ने खाले विग पनि पाइन्छ ।
विग कसरी लगाउने ?
बजारमा विभिन्न प्रकारका विग पाइन्छ । कुनै विगलाई कपालमा गम तथा टेपको प्रयोग गरेर टाँसेर लगाइन्छ भने कुनै विगलाई टोपी जसरी लगाउन सकिन्छ । टोपी जसरी लगाउन मिल्ने विग लगाउन अलि सहज हुन्छ ।
यो प्राकृतिक कपाल जस्तै हुन्छ ?
विग मुख्यतया मानव कपाल, सेन्थेटिक सिल्क र प्लास्टिकबाट बन्छ । धेरै प्रयोग हुने प्राकृतिक र सेन्थेटिक हो । यो प्राकृतिक कपाल जस्तै नै हुन्छ । व्यक्तिले आफ्नो कपालको रंगसँग मिल्दो विग लिएको खण्डमा त विग लगाएको भनेर थाहा हुँदैन ।
मूल्य कति पर्छ ?
सेन्थेटिक विगको मूल्य एक हजार ९०० देखि पाँच हजार रुपैयाँसम्म पर्छ । प्राकृतिक कपालबाट बनेको विगको मूल्य भने ७ हजार ५०० रुपैयाँसम्म पर्छ ।
राम्रो विग कसरी छनोट गर्ने ?
विग लिंदा सधैं प्रयोग गर्ने हो कि कहिलेकाहीं स्टाइलको लागि मात्र प्रयोग गर्ने भन्नेबारे सोचेर मात्र लिनु उपयुक्त हुन्छ ।
धेरै महंगो विग लिनु भन्दा औसत मूल्यको विग किन्नु राम्रो हुन्छ किनकि औसत मूल्यवाला विग किन्दा हेयर स्टाइल परिवर्तन गर्न मन लागेको बेला अर्को विग पनि लिन सकिन्छ । मानव कपाल विग वा सेन्थेटिक कपाल विग लिने व्यक्तिगत निर्णय हो । तर त्यसको मर्मतसम्भारको बारेमा पूर्ण र सही जानकारी भने लिनुपर्छ ।
राति सुत्दा लगाउन मिल्छ ?
कपालमा टाँसिने विगलाई खोलेर राख्न मिल्दैन लगाइरहनुपर्छ । तर टोपी जसरी लगाइने विगलाई भने आफूलाई मन लागेको बेला लगाउने, मन नलागेको बेला खोलेर राख्न सकिन्छ ।
विगलाई धुन मिल्छ ?
विगलाई धुन, कोर्न, बाट्न, बाँध्न, आइरन गर्न र सामान्य कलर पनि गर्न मिल्छ । आफ्नो इच्छा अनुसार काट्न पनि मिल्छ ।
(एच एण्ड एन अनलाइन स्टोरकी सञ्चालिका चाँदनी श्रेष्ठसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4