
नयाँ वर्ष त मेरो लागि खास हो । किनभने यही दिन मेरो जन्मदिन पनि पर्छ । पहिले परिवारसँग बसेर जन्मदिन मनाइन्थ्यो । अहिले संगीतमा लागेपछि घरमा बस्न पाइएको छैन, दर्शकसँग मनाउने गरेको छु ।
यसपालिको नयाँ वर्षमा पोखरामा कन्सर्ट छ । त्यहीं मेरा दर्शक–श्रोतासँग नयाँवर्ष र जन्मदिन एकमुष्ठ मनाउँछु ।
घुमघाम गर्छु
मलाई घुमघाम गर्न एकदमै रमाइलो लाग्छ । हुन त सांगीतिक कार्यक्रमको सिलसिलामा प्रायः घुमघाम गरिरहेकै हुन्छु । कहिले कहाँ पुग्छु, कहिले कहाँ । तर कार्यक्रमका लागि जाँदा ढुक्कले घुम्न पाइँदैन ।
त्यहाँ पुगेपछि फर्किने हतार हुन्छ । अबको वर्ष चाहिं मैले आरामले घुमघाम गर्ने योजना बनाएकी छु । त्यहाँको संस्कृति, परम्परा, रहनसहन, व्यवहार र प्रकृतिलाई नजिकबाट नियाल्नेछु ।
आफ्नै युट्युब च्यानललाई निरन्तरता दिन्छु
मेरो दोस्रो योजना हो, आफ्नै युट्युब च्यानललाई निरन्तरता दिन्छु । सांगीतिक कार्यक्रम र गीत रेकर्डिङले गर्दा आफ्नो युट्युब च्यानललाई समय दिन सकेकी छैन । अब चाहिं सांगीतिक कार्यक्रमसँगै युट्युब च्यानललाई अगाडि बढाउँछु । युट्युबमा नयाँ कन्टेन्ट र भिडियो ल्याउँछु ।
बिहान चाँडै उठ्छु
गत वर्ष पनि चाँडै उठ्ने बानी बसाल्छु भनेको थिएँ तर सकेको थिइनँ । अब भने त्यसलाई व्यवहारमा उतार्नेछु ।
व्यायाम गर्छु
अब म नियमित रुपमा व्यायाम गर्नेछु । कार्यक्रम र रेकर्डिङले गर्दा व्यायाम गर्न पाइएको छैन । यसपालिदेखि म नियमित व्यायाम गर्छु ।
जंकफुडबाट टाढा रहने कोसिस गर्छु
जंकफुड खाँदै नखाने त भन्न मिल्दैन, सकिंदैन पनि । तर यसलाई एकदम कम गर्ने सोचमा छु । स्वस्थ खाना खान्छु ।
मोबाइलमा झुण्डिने बानी कम गर्छु
आजभोलि सबैथोक मोबाइलमा नै हेर्ने गर्छौं हामी । म पनि यसबाट टाढा रहन सकेको छैन । काम ५–१० मिनेटको हुन्छ, मोबाइल १-२ घण्टा चलाइन्छ । यो बानी चाहिं छाड्नुपर्ने छ । यसको सट्टा सिर्जनात्मक काममा समय दिनेछु ।
पुस्तक पढ्छु
राम्रा पुस्तक छनोट गरेर पढ्ने योजना छ । पढ्न रहर लागेर पनि आनन्दले पढ्न पाइरहेको छैन ।
(रेणु त्वानाबासुसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4