
लथालिंग छ भताभुंग छ
जताततै शरीरमा
घाउ लागेको छ
कता दुख्यो भनुँ खै ?
नदुखेको ठाउँ नै नभेटेपछि
समयले बिर्सिएको
भव्य सुख र समृद्धिको सपना
थन्किएका छन् फाइलहरूमा
मिसिएका छन् स्वार्थको रसवरीसँगै
वार्ता र सहमतिको टेबुलमा
परिकार बन्दैछन् झुटो अभियानको
अनि
डकार्छ असहमति र
घुमाउँछ घडीको उल्टो सुई
फर्काउँछ त्यही यात्रा
जहाँबाट सुरु भएको हो
परिवर्तन र विकासको नयाँ सिद्धान्त
वा समयलाई नै झुक्याउने
खुशी छन् अनुयायीहरू
पाउने पनि र नपाउने पनि
उब्जिंदैनन् प्रश्नहरू
कुनै मष्तिष्कमा
विरोधका स्वरहरू हराइरहेछन्
पानीजस्तै दूधमा
सुशासन सदाचार
खै कसको गोजीमा छन् ?
निस्किनै मान्दैनन्
रमाउँछन् मात्रै बन्द कोठामा
रक्सी र रुपैयाँका दास बनेर
सेवा गर्दैछन् मालिकहरूको
यो वर्ष यस्तै भयो
अब
नयाँ वर्षको पहिलो घामले
रंगाओस् सुख शान्ति र उमंगको धरातल
ब्युँझिउन् निदाएका चेतनाहरू
निस्किउन् बाहिर सुशासन र सदाचार
उज्यालो दुनियाँमा
मेलमिलाप र भातृत्वको साझा गीतमा
नाचुन् सयौंथरी मुजुरहरू
बनाइयोस् एकताको विशाल आँगन
सबै अटाउने
भ्रष्टाचारले नगनाओस्
सेवा प्रवाहको चूल्हो
सहमतिको भागवण्डाले
नछुटोस् यात्रा बीचमै
नपोखिउन् पसिना
अरबको तातो बालुवामा
नदुखुन् मनहरू
दु:खद् समाचारहरू सुनेर
भर्न नपरोस् पीआरको कुनै फारम
यही धूलो यही माटो
यही हावा यही पानी
यही संस्कृति
बगोस् नसा-नसामा
नयाँवर्षको हार्दिक मंगलमय शुभकामना ।।
प्रतिक्रिया 4