+
+

मल कारखाना खोल्न दुई कम्पनीको फाइल अगाडि बढाउने लगानी बोर्डको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:५५

३० चैत, काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्न आएका दुई वैदेशिक लगानीकर्ताको फाइल अगाडि बढ्ने भएको छ । लगानी बोर्ड नेपालको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । अर्थमन्त्री बोर्डको उपाध्यक्ष रहने प्रावधान छ । मन्त्री महतका अनुसार अहिले रासायनिक मल कारखानाको विस्तृत अध्ययन गर्न दुई लगानीकर्ताले अनुमति कुरिरहेका छन् । उनीहरुलाई अनुमति दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

डा. महतले भनेका छन्, ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनु भएको छ, दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।’ मन्त्री महतका अनुसार स्वदेशी, विदेशी र ठूलो आकारका आयोजना नेपाल लगानी बोर्डमार्फत अगाडी बढाउने निर्णय समेत भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको छ ।

त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि निर्णय भएको मन्त्री डा. महतले बताए ।

लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताए । उनले भने, ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्, कोही कार्यान्वयनको चरणमा पुगेका छन् । यी विभिन्न चरणमा भएका आयोजनाहरुलाई अगाडि बढाउने र त्यो सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिक लगायत अन्य क्षमतामा वृद्धि गरेर भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको थियो ।’

बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, त्यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताए । उनले भने, ‘आगामी दिनमा लगानी सम्मेलन गर्ने विषय पनि उठेको थियो, त्यसको उपयुक्त मिति छलफल पछि टुंग्याइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?