३० चैत, विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा बिहीबार जित दर्ता गराएको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार पहिलो खेलमा पुलिसले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो ।
८८ रनको लक्ष्य पछ्याएको पुलिसले ९.३ ओभरमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए ।
सुनिल धमलाले १९ बलमा २३ र अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए ।
यसअघि दिल्लीले १५.५ ओभरमा सबै विकेट गुमाई ८७ रनमा अलआउट भयो । सकिट केडियाले २२ बलमा ४ चौका र २ छक्का मदतमा २९ रन बनाए ।
प्रदिप कुमारले १३ बलमा १९ र अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रमक बलिङ गर्दै ३.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
दोस्रो खेलमा एनबीएससीले सुदूरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हरायो । २२२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९.२ ओभरमा सबै विकेट गुमाई १ सय ९५ रन बनाउन सक्यो ।
सुदूरपश्चिमका दिपक बोहोराले ४७ बलमा ९ चौका र ५ छक्का प्रहार गरी ८३ रन बनाए । नरेशले २७ र हेमन्त धामीले २२ रन जोडे ।
बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २ विकेट लिए ।
यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीका लागि राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे । म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै ७३ रन बनाए ।
सतिशले ३३ बलमा ५७ र अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रन बनाए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
ज्ञानेन्द्र बोहरा र सुमितले समान २ विकेट लिए । शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबीच हुनेछ भने दोस्रो नेपाल पुलिस र एनबी ग्रुप सुदूरपश्चिमबीच हुनेछ ।
प्रतिक्रिया 4