+
+

शुक्रबारदेखि फिल्ममा सिफ्ट सिस्टम लागू, नृत्य कलाकारको पारिश्रमिक बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १३:१२
फाइल तस्वीर

काठमाडौं । नयाँवर्षको अवसरमा वैशाख १ गतेदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा तीन महत्वपूर्ण नियम लागू हुँदैछन् । नयाँवर्षदेखि चलचित्र विकास बोर्ड, प्राविधिक संघ र चलचित्र नृत्य संघले तीन महत्वपूर्ण नियमहरु कार्यान्वयनमा ल्याएका छन्, जसले नेपाली फिल्म क्षेत्रलाई प्रभावित तुल्याउनेछ ।

यसअघि नै घोषणा भएपनि शुक्रबारदेखि कार्यान्वयन हुने भएकाले चलचित्रवृत्तको चासो यसतर्फ मोडिएको छ । संघसंस्थाले यी नियम लागू गरेपनि यो पूर्णतः विवादरहित भने छैन । शुक्रबारदेखि लागू भएका महत्वपूर्ण तीन नियमलाई कतिपय संघसंस्थाले विरोध पनि गरिरहेका छन् ।

१. प्राविधिकको सिफ्ट सिस्टम लागू

चलचित्र प्राविधिक संघले वैशाख १ गतेदेखि सिफ्ट सिस्टम लागू गरेको छ । नियमानुसार प्राविधिकले १२ घण्टालाई एक सिफ्ट तोकेर काम गर्नुपर्नेछ । त्यसभन्दा बढी अतिरिक्त समय काम गर्नुपरे निर्माताले अतिरिक्त पारिश्रमिक तिर्नुपर्नेछ । नेफ्टा अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय अभ्यासलाई ख्यालमा राखेर सिफ्ट प्रणालीको नियम कार्यान्वयनमा ल्याइएको बताए । फिल्ममा काम गर्नुअघि सम्झौता गर्दा सिस्टमको नियमलाई ख्याल राख्न समेत नेफ्टाले आग्रह गरेको छ । नेपाली फिल्मको वर्तमान बजारलाई ध्यानमा राखेर यस्तो नियम ल्याइएको जनाइएको छ ।

२. वैशाखदेखि फिल्मको कमाइ सार्वजनिक हुँदै

चलचित्र विकास बोर्डले वैशाखदेखि नियमित रुपमा नेपाली फिल्मको आधिकारिक कमाइ सार्वजनिक गर्ने जनाएको छ । गत साता २०७९ सालमा प्रदर्शनमा आएका १३२ फिल्मको कमाइ सार्वजनिक गरेको बोर्डले वैशाखदेखि मासिक रुपमा नियमित कमाइ सार्वजनिक गर्ने भएको हो । बोर्ड अध्यक्ष भुवन केसीले यस्तो नियमले निर्मातादेखि मिडिया र नागरिक सबैलाई फाइदा पुग्ने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको छलफलपछि बोर्डले यो व्यवस्था ल्याएको हो ।

३. चलचित्र नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि

वैशाख १ गतेदेखि लागू हुनेगरी चलचित्र नृत्य संघले फिल्म तथा म्युजिक भिडियोका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि गरेको छ । फिल्म र भाषाभाषीका फिल्मको गीत खिच्दा एकैदिनमा सकिएमा तीन हजार रुपैयाँ, दुई दिनमा छायांकन सकिएमा पाँच हजार र तीन दिनमा सकिएमा ६ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । म्युजिक भिडियोका डान्सरको एक दिनमा दुई हजार र विदेशी फिल्मका डान्सरको हकमा तीन हजार रुपैयाँ तोकिएको छ । पछिल्लो बजार अवस्थाअनुसार पारिश्रमिक निर्धारण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?