
काठमाडौं । अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले नयाँ वर्षको अवसरमा शुक्रबार आफ्नो निर्माण तथा निर्देशन रहने फिल्म ‘सिलाम साख्मा’को घोषणा गरेका छन् । फिल्मलाई पूर्वी पहाडका विभिन्न ठाउँमा छायांकन गरिने भएको छ । फिल्मको छायांकन असारदेखि सुरु हुनेछ ।
किरात समुदायले छातीमा लगाउने ब्याचजस्तो प्रतीक ‘सिलाम साख्मा’को नेपालीमा अर्थ हुन्छ, मृत्युको बाटो छेक्ने । किरात सभ्यतासँग जोडिएको ‘सिलाम साख्मा’लाई मुटुतर्फ लगाइन्छ र यसको सांस्कृतिक तथा धार्मिक मान्यता छ । यो शीर्षकमा बन्ने फिल्मलाई विल्सनले आफ्नो होम प्रोडक्सन ‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनाउन लागेका हुन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा यसअघि ‘रातो घर’ लगायतका फिल्म बनेका छन् । लिम्बू समुदायको कथासँगै फिल्म निर्माणमा व्यावसायिक पक्षलाई मध्यनजर गरिने समेत विल्सनले बताए । उनले फिल्ममा तीन सी (कमेडी, कम्युनिटी र कमर्सियल) तत्व समावेश गरिने बताए । अहिलेका चलेका स्टारहरुलाई कलाकारको रुपमा समावेश गरिने समेत उनले जानकारी दिए ।
वैशाख १ गते फिल्मको घोषणा गर्दै उनले फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । स्केच पोस्टरमा एक पहाडी गाउँलाई चित्रण गरिएको छ । करिअरमा ३० भन्दा बढी फिल्ममा अभिनय गरेका विल्सनले यसबाहेक अभिनेताको रुपमा ‘हात्तीछाप’ र ‘पर्खिबसें २’ मा अभिनय गर्दैछन् ।
प्रतिक्रिया 4