
तातो जुलुस ! रातो जुलुस ! काले, नेप्टे-चेप्टे,थेप्चे, ‘हरवा-चरवा’हरूको जुलुस ! अथवा यसो भनौं राष्ट्रिय मूलधारबाट अलग-थलग, दमित, शोषित, उत्पीडित, बहिस्कृत, तिरस्कृतहरूको जुलुस ! भरपेट खाना, एकसरो नाना अनि टाउको लुकाउने छानाका लागि संघर्ष गरिरहेकाहरूको जुलुस !
‘भाषण हैन खाना दे ! ओत लाग्ने छाना दे !’ उनीहरू नारा लगाइरहेका थिए । सन्देश नेतृत्वको उक्त जुलुस न्यूरोड जुद्ध सालिक हुँदै अघि बढ्यो ।
‘तस्कर-माफिया मासी दे ! भ्रष्टाचारीलाई फाँसी दे !’ त्यति नै बेला आक्रोशित युवाहरूको अर्को जुलुस पनि नाराबाजी गर्दै रत्नपार्कबाट न्यूरोड गेटतिर सोझियो । न्यूरोड गेटअगाडि दुवै जुलुसको आमनेसामने भयो । दुवैथरीले ताली-सिठी बजाएर एक अर्काको अभिवादन गरे ।
केही मिनेटको अन्तरालमा दुवै जुलुस ‘मेरो अदालत’ नाम दिइएको सार्वजनिक सुनुवाइ स्थलमा प्रवेश गरे । सुनुवाइको आयोजना सर्वोच्च न्यायालय र नागरिक समाजले संयुक्त रूपमा गरेका थिए । जहाँ राणाकालदेखि वर्तमानसम्मका शासनाधिकारी, पीडित समुदाय र आम नागरिकहरूसँगको बयानबाट निस्केको निष्कर्षका आधारमा दोषीलाई दण्ड दिने कार्यविधि निर्धारण गरिएको थियो ।
इजलास बिहान दस बजेदेखि बसेको थियो । मध्यान्हसम्म राणातन्त्र, राजतन्त्रदेखि लोकतान्त्रिक नेपालका आधा दर्जन शासनाधिकारीहरूले बयान दिइसकेका थिए । बयानको अनौठो पक्ष के थियो भने, सबै आफूहरूको शासनकालमा विकासको लहर चौतर्फी छाएको भन्दै अपजस जति अरुको थाप्लोमा हाल्न पछि पर्दैनथे । त्यही मेसोमा श्री ३ महाराज ….ले ‘राणाकाल नेपालको स्वर्णयुग थियो’ भनिदिँदा ठूलै प्रतिवाद भएको थियो ।
‘जतिबेला मुलुकमा लिखित कानुन थिएन, श्री ३ जंगबहादुरले १९१० मा मुलुकी ऐन जारी गरिबक्स्यो । श्री ३ देव शमशेरले गोरखापत्र प्रकाशनको थालनी गरिबक्स्यो । महाराज चन्द्र शमशेरले त्रिचन्द्र कलेज स्थापनाको अतिरिक्त सतीप्रथा उन्मुलन गरिबक्स्यो । महाराज वीर शमशेरले नेपालकै पहिलो अस्पताल वीर अस्पतालको निर्माण अनि श्री ३ पद्म शमशेरले ‘वैधानिक कानुन २००४’ नामको नेपालको पहिलो संविधान जारी गरिबक्स्यो । श्री ३ महाराजकै शासनकालमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो । राणाकालमा भ्रष्टाचारको नामोनिशान थिएन । घुस्याहालाई कडा दण्ड सुनाइन्थ्यो । राणाहरू निरङ्कुश थिए भन्ने कुरा सोह्रै आना झुटो हो …।’ श्री ३ महाराजले भनेका थिए ।
श्री ३ महाराजपछि कठघरामा उभिएर बोल्ने मौका ‘श्री ५ महाराजधिराज’ले पाएका थिए । उनले त झन् पूर्ववक्तालाई समेत मात दिने गरी ‘राजतन्त्रकाल नेपालको ‘डायमण्ड एज’ थियो’ सम्म भन्न भ्याए !
‘… २००७ सालको प्रजातन्त्र प्रजावत्सल राजा श्री ५ त्रिभुवनको त्याग र तपस्याबाट मात्र संभव भएको हो । नेपालको एकीकरण र समृद्धिमा राजतन्त्रको अतुलनीय योगदान रहेको छ । पूर्व-पश्चिम राजमार्ग खोल्ने, देशको सात ठाउँमा औद्योगिक ग्राम स्थापना गर्ने, भारतीय मुद्रालाई मुलुकबाट विस्थापन गरी नेपाली मुद्रा प्रचलनमा ल्याउने जस्ता काम राजतन्त्र कालमै भएको थियो । उल्टै अराष्ट्रिय तत्वहरूले राजामाथि बम प्रहार गरे,…,’राजाले भने ।
विमान अपहरण, राजामाथि बम प्रहारअनि अराष्ट्रिय तत्वको संज्ञा दिइएकोमा प्रजातन्त्रवादीहरूलाई असहृय भयो । केहीले उठेर कडा आपत्ति जनाए । आरोप-प्रत्यारोप चल्यो । होहल्लाकै माझ सुनुवाइ कक्षको चारै कुनाबाट साइरन बजेको आवाज आउनुका साथै पिलिक-पिलिक बत्ती बल्न लाग्यो । रातो बत्ती र साइरनको आवाजले कतिपय अत्तालिए पनि ।
यत्तिकैमा सबैले अज्ञात स्थलबाट प्रसारित सन्देश सुन्न थाले,’यो स्वर्गबाट प्रसारित सङ्केत हो । म यतिखेर इन्द्रपुरीको सञ्चार प्रमुख वेदभुषण बोलिरहेको छु । वेदभुषण अदालत समक्ष निवेदन गर्न चाहन्छ कि, नेपाल देशका पूर्व प्रधानमन्त्री स्वर्गीय बीपी कोइराला त्यहाँ सशरीर उपस्थित भै बयान दिन चाहनुहुन्थ्यो तर उहाँ इन्द्रपुरीको अस्पतालमा उपचार गराइरहनु भएकाले त्यहाँ आउन सक्नुभएन । बीपीका केही भनाइहरू छन् । भनाइ प्रस्तुत गर्नका निम्ति आधुनिक प्रविधिमार्फत अबिलम्ब बन्दोबस्त मिलाइयोस् ।’
न्यायाधीशले विनाबिलम्व दूरदर्शन यन्त्रमार्फत बयानको तारतम्य मिलाए । बीपी टेलिभिजनमा बोल्ने कुराले धेरैलाई हर्षित बनायो ।
‘कोतपर्वको सिको गर्दै दरबार हत्याकाण्डजस्तो जघन्य अपराध गर्ने, बहुदलीय व्यवस्था माग गर्नेका छातीमा गोली ठोक्ने, शोषणबाट आर्जित सम्पत्ति पम्फा देवीका नाममा विदेशी बैँकमा राख्ने, कप्तान यज्ञबहादुर थापा लगायत दर्जनौँ प्रजातन्त्र सेनानीको हत्या गर्ने, फौजी बलमार्फत जननिर्वाचित सरकारलाई अपदस्त गर्ने, जनमत संग्रहमा धाँधली गरी निर्दलीय तानाशाही पञ्चायती व्यवस्थालाई जिताउने, आदि इत्यादि । डायमण्ड एजका उल्लेखनीय काम यिनै हैनन् त ?’ बीपीले प्रतिवाद गरे ।
‘जहाँसम्म विकासको कुरा छ, म यहाँहरूलाई २०२५/२०२६ साल अर्थात सन् १९६९तिर लिएर जान चाहन्छु । अमेरिका, सोभियत संघ जस्ता देशहरूले त्यही समयमा चन्द्रमामा मानव पाइला राखेका थिए । तर हाम्रालागि त्यतिखेर जहाज चढ्नु दुर्लभ घटना मानिन्थ्यो । यसैबाट ‘हिरक युग’को दाबी कति बकवास थियो भन्ने स्पष्ट हुन्छ,’ उनले अगाडि भने ।
बीपीको भाषणबाट लोकतन्त्रवादीहरू निकै हौसिए । त्यसै क्रममा गणतान्त्रिक नेपालका प्रधानमन्त्रीले बोल्ने पालो पाए ।
‘मेरो विचारमा राणातन्त्र र राजतन्त्र सारमा दुवै जहानियाँ शासन थिए । एउटाले श्री ३ का तर्फबाट फरमान जारी गर्दथ्यो त अर्कोले श्री ५ का नाममा हुकुम चलाउँथ्यो । तिनताका राजा, भाइ-भारदार र आसेपासेबाहेक सामान्य नागरिकहरू रैतीमा गनिन्थे । राणाकालमा जनताका छोराले घरमा रेडियो राख्न पाउँदैनथ्यो । राणा-राजाबाहेक अरुले मोटर चढ्ने कल्पनासम्म गर्न सकिंदैनथ्यो । राजतन्त्रको उत्तरार्धसम्म आइपुग्दा पनि काठमाण्डौंदेखि कर्णालीको दुर्गम बस्तीमा खबर पुग्न महिनौँ लाग्थ्यो । आज देशको हर क्षेत्रमा अमूल परिवर्तन आएको छ । सडक सञ्जालसँग नजोडिएको कुनै ठाउँ छैन । प्रायः सबैतिर मोटर कुदेका छन् । वडा वडामा स्कुल खुलेका छन् । हरेक जिल्लामा अस्पताल निर्माण भएका छन् । सबैका हातहातमा मोबाइल छ, बैँक छ, इन्टरनेट छ, टेलिभिजन छ । जनताको छोरा-छोरी राज्यको सर्वोच्च स्थानमा पुग्न सक्ने गरी संविधान निर्माण भएको छ । पिछडा वर्ग, मधेसी, महिला, दलित सबैले राज्यमा समान सहभागिता पाएका छन् । व्यवस्थाको विरोध गरेकै आधारमा कोही जेल जानु पर्दैन, …,’ गणतान्त्रिक प्रधानमन्त्रीले भने ।
कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ काठमाडौं आउने चाहना हुँदाहुँदै स्वर्गमै थिए । दूरदर्शन मार्फत् मेरो अदालतको काम कारबाही नियालिरहेका उनलाई गणतन्त्रान्त्रिक प्रधानमन्त्रीको कुरा उतिसारो मनपरेन । उनी केही बोल्न चाहिरहेका थिए । इन्द्रपुरीका सञ्चार प्रमुख वेदभुषणले इजलासमा दोस्रो पटक साइरन र रातो बत्तीको इसारा दिए । न्यायाधीशलाई सङ्केत बुझ्न गाह्रो परेन । उनले पुष्पलाल श्रेष्ठको अभिमत लिने यान्त्रिक प्रबन्ध मिलाए ।
‘… शहीद बन्ने सौभाग्य नपाए पनि शहीदले निभाएको धर्म बुझ्छु म । देशको अग्रगामी रूपान्तरणका निम्ति शहीदले बगाएको रगतको मर्म बुझ्छु म । नेपाल आमाका हजारौँ सन्ततिहरूले मातृभूमिका खातिर जीवन न्यौछावर गरे । हजारौँ जनसमुदाय अङ्गभङ्ग भए । परन्तु शहीदको सपना पूरा भएन । जनताका सेपिला बस्तीहरूमा सुनौला घाम लागेन । बरु जनतालाई सुनौलो भविष्यको सपना देखाउने स्वयं दिग्भ्रमित भए । कतिपयको विवेकमा सुनका काँढा गढे । त्यसैले म आजभोलि दूर क्षितिजबाट शहीदको दर्दपूर्ण पुकार सुन्ने गर्छु। उनीहरू भन्ने गर्छन्- ‘हामीले बगाएको रगत पानी भो ! हाम्रो रगत फगत पानी भो !’
जहाँसम्म सुशासनको सबाल छ, घुस मागेको अडियो सार्वजनिक हुँदा पनि कारबाही हुँदैन ! देशमा जता हेर्यो त्यतै अव्यवस्था छ । महंगी, बेरोजगारी, तस्करी, माफियागिरी मौलाउँदो छ । राजधानी फोहरले दुर्गन्धित छ । जनता ‘के नयाँ, के पुराना, नेता भनेका चोर हुन्’ भन्न थालेका छन् । न्यायमुर्ति समेत राजनैतिक ध्रुवमा विभक्त छन् । संसार मंगल ग्रहमा शहर बसाउने तयारीमा रहेका बेला हामी भोग, रोग, गरिबी, कुशासनसामु आत्मसमर्पण गर्न विवश छौँ ।’ पुष्पलाल योभन्दा अघि बढ्न सकेनन् । उनी भावुक भए । उनको गला अवरुद्ध भयो । आँखाबाट आँसु झर्न थाले । पुष्पलाल रोएको देख्दा इजलासमा सन्नाटा छायो ।
त्यो दिन इजलासमा थुप्रै व्यक्तिहरूले बयान दिए । अन्त्यमा एमिकस क्यूरीका तर्फबाट एक जना वकिललाई बहसमा भाग लिने अवसर दिइयो ।
‘मेरो विचारमा न राणाको शासनकाल स्वर्ण युग थियो, न राजतन्त्रलाई विकासको डायमण्ड एज भन्न मिल्छ । त्यसो हुन्थ्यो भने, चन्द्रमामा मानव पठाउने पहिलो मुलुक नेपाल हुनुपर्ने थियो । विज्ञानका यावत आविष्कारको केन्द्रविन्दू नेपाल हुनुपर्ने थियो । तर तथ्य त्यसो छैन । तसर्थ नेपालको दुरावस्थाका निम्ति केही दसक यताका शासकलाई मात्र जिम्मेवार ठहर्याएर पुराना शासकलाई क्लिन चीट दिनु कुनै पनि अर्थमा मुनासिव हुने छैन ।
कतिपय मानिसहरू देशको दुरावस्थाका लागि पुराना नेताको विस्थापन चाहन्छन् । यो केही अर्थमा जायज पनि छ । प्राकृतिक नियम पालनाका निम्ति पनि पुराना पात झर्नु अनि नयाँ मुना पलाउनु अपरिहार्य हुन जान्छ । परन्तु पुराना नेताको विस्थापनको नाममा नयाँ भनिएकाहरूलाई अराजक हुने छुट दिन सकिँदैन, …।’ उसले भनाइ राख्यो ।
एमिकस क्यूरीको बहसपछि न्यायाधीशले आधा घण्टाका लागि इजलास स्थगन गरे । अनि अर्को इजलासमा ‘मेरो अदालत’को फैसलासहित उपस्थित भए ।
‘पक्ष-विपक्ष, विद्वान वकिल लगायत सबैको बयान सुनेपछि अदालत यो निष्कर्षमा पुगेको छ कि-कोतपर्व, नारायणहिटी हत्याकाण्ड लगायत मानवता विरोधी कर्ममा संलग्न व्यक्तिहरू क्षमाका लायक हुन सक्दैनन् । साथै लुटतन्त्रका लागि जिम्मेवार नेता वृद्ध हुन् या युवा कसैलाई पनि उन्मुक्ति दिन सकिँदैन ।
त्यसैले मेरो अदालत विगतदेखि वर्तमानसम्म मुलुकको सत्तामा रही भ्रष्टाचार गर्ने, मानवता विरोधी अपराध गर्ने, अधिकारका नाममा अराजकता मच्चाउने निम्न बमोजिमका राणा, राजा, गणतन्त्रवादी प्रधानमन्त्री र जनप्रतिनिधिलाई राष्ट्रको दुर्गतिको प्रमुख कारक ठहर्याउँदै निजहरूलाई हतकडीसहित न्यूरोड पीपल बोटमा बाँधेर राख्ने आदेश दिन्छ ।
साथै स्वच्छ एवम् निष्पक्ष रहनुपर्ने न्यायपालिका स्वयं तटष्ठ र पूर्वाग्रह रहित हुन नसकेको जनआवाज सुनिन थालेकोले यो अदालत न्यायाधीकारीहरूलाई समेत स्वच्छ आचरण गर्न, गल्तिप्रति आत्मआलोचित हुन र पुनः गल्ति नदोहोर्याउन निर्देशन जारी गर्दछ,’ न्यायाधीशले फैसला सुनाए ।
सुरक्षाकर्मीहरूले फैसला हुनासाथ दोषीहरूको हातमा हतकडी लगाए । त्यसपछि सबैलाई न्यूरोड पीपल बोटतर्फ लिएर गए । दोषीहरू चढेको प्रहरी भ्यान अघिअघि, न्यायप्रेमी समुदायको विशाल लावालस्कर पछिपछि । सडक पेटीमा उभिएकाहरूले समेत ताली-सिठी बजाएर अदालतको फैसला उपर दृढ समर्थन व्यक्त गरे ।
खुशीयाली जुलुस न्यूरोड पीपलबोट पुग्नै आँटेको थियो, कथाले अनपेक्षित मोड लिने सङ्केत दियो । अर्थात् ‘तस्कर-माफिया मासी दे ! भ्रष्टाचारीलाई फाँसी दे !’ नारा लगाइरहेको सन्देश नामको जुझारु युवा भुईंमा डङरङ्ग ढल्यो । सडक पेटीमा उभिएर ताली पिटिरहेका थप दुई जना पनि भुइँमा पल्टिए ।
उनीहरूको छातीबाट आलो रगत अनि बारुदको नमीठो गन्ध आइरहेको थियो ।
प्रतिक्रिया 4