
३ वैशाख, गोरखा । गोरखनाथ मन्दिरमा वैशाख २२ देखि जेठ १ गतेसम्म रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन महोत्सव गर्न लागिएको हो ।
गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।
रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुन्छन् । ‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरुगोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो’, उनले भने, ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’
साना–साना आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातिका व्यक्तिहरूले शुद्व भई मन्त्रजप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ । तत्कालीन नेपाल एकीकरणको समयमा सेनालाई प्रसादका रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।
महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सवै सुविधा निःशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिए । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष ठाउँको व्यवस्था गरिएको छ । महोत्सव गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिए ।
लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, भक्तजन, स्थानीय समाजसेवी तथा सङ्घसंस्थाबाट स्वेच्छिकरूपमा जुटाइन्छ । वैशाख २२ गते बाजागाजासहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकाबाट धार्मिक प्रवचन तथा भजनकीर्तनसमेत हुने केन्द्रले जनाएको छ ।
महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारतलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
प्रतिक्रिया 4